सोसल मिडिया
Contact Us
युनिकोड
इलाम । पूर्वी इलामका जति पनि अग्ला डाँडाहरु छन ति सबै सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त मानिन्छन् । किनकी पंश्चिम बंगालको खाडीबाट झुल्कने सूर्यले पहिलो पटक इलामकै अग्ला डाँडालाई स्पर्श गर्छ । इलामको रोङ गाउँपालिका–६ मा रहेको झन्डीडाँडा पछिल्लो समय सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त स्थानका रुपमा चर्चा छ । त्यति मात्र होइन पदमार्ग र साहसीक खेल गन्तब्यका रुपमा विकसित हुँदै गएको छ । सूर्यको पहिलो झुल्को नियाल्न र साहसीक खेल पारखीहरुका लागि भर्जिन गन्तब्यका रुपमा यस स्थानले परिचय पाउन थालेको छ । नेपाल–भारत सीमा छुट्याउने मेची नदी किनारबाट शुरु भएको करसोङ पदमार्ग साइकल यात्रीहरुका लागि प्रख्यात छ, सोही पदमार्गसँग जोडिएको झन्डीडाँडाले उत्तिकै पख्याती कमाउन थालेको छ । १ हजार ३ सय ९६ मिटर उचाइमा रहेको यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिँढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोङ पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ । रोङ गाउँपालिकास्थित पर्यटन सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेका अनुसार सामान्य भौतिक संरचनाहरुको निर्माण भएपछि भारतीय पर्यटकहरुले झण्डीडाँडा रमाइलो गन्तब्य बनाएका छन् । ‘तराईको गर्मी छल्न भारतको दार्जिलिङ, मिरिक र खरसाङ उक्लिएका पर्यटकले झण्डीडाँडा पनि रोज्न थालेका छन् । साइकल यात्रीहरु समूह बाँधेर यहाँसम्म आइपुग्छन् । देश विदेशमा थप प्रचार गर्न सके यस स्थान पूर्वी नेपालको अर्गानिक गन्तब्य बन्ने निश्चित छ,’ घिमिरेले भने । झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर र मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा रहेको यो स्थान तराई र पहाड दुवै तर्फबाट पायक पर्ने भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेको स्थान रहेको स्थानीय हर्कटे बजारका युवा अगुवा सन्तोष गुरुङ बताउँछन् । ‘यहाँ आउने पर्यटकले कान्छी पाथिभराको दर्शन गर्दै नजिकैको गुगल पोइन्टमा रमाइलो गर्दै कन्याम चिया बगानलाई पनि आफ्नो प्याकेजमा समावेश गर्न सक्छन । क्याम्प फायर र नाइट स्टे क्याम्प गरेर भिन्न आनन्द लिन सक्छन्, । ग्रामीण परिवेशको रहनसहन र चुरे क्षेत्रको अवलोकनबाट पनि बेग्लै आनन्द लिन सक्छन्,’ गुरुङले जानकारी दिंदै भने । हिजोआज झन्डीडाँडालाई पर्यटकले प्राकृतिक भ्यू टावरको उपमासमेत दिनेगरेका छन् । धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण स्थान मानिने यो डाँडामा किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रुपमा चिनिएको छ । झन्डीडाँडामा रहेको खेलमैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ ठूलो आहाल खेल मैदान’ नामसमेत राखेका थिए । यसलाई अहिले झन्डी खेलमैदान पनि भनिन्छ । किरातीहरुले उधौली, उभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका झन्डा गाढ्ने चलन थियो । त्यही चलनअनुसार संस्कार सकेपछि, पूजाविधि सकेपछि यही डाँडामा झन्डा गाढ्नेगरेको इतिहास रहेको उक्त स्थानलाई पर्यटकीय गन्तब्यका रुपमा प्रचारमा जुटेका स्थानीय अगुवा अशोक वान्तवाको भनाइ छ । ‘किरातीहरु वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्छन । किरात संस्कृतिको धरोहर यहाँ साकेला थान छ भने उधौली उभौलीमा पूजा गरिन्छ । ढोल, झ्याम्टा बजाएर साकेला नाचिन्छ । त्यसैले यसको धार्मिक महत्व उत्तिकै महत्वपूर्ण छ,’ उनले भने । झन्डीडाँडामा भ्यु–पोइन्टको अवधारणा स्थापना गर्न संघीय र स्थानीय सरकार, स्थानीय अगुवा, किरात फ्रेन्ड्स क्लब लगायतको योगदान महत्वपूर्ण मानिन्छ । आर्थिक वर्ष २०७७÷०७८ पछि यहाँ पूर्वाधार विकासले गति लिंदै गएको छ । रोङ गाउँपालिकाले यसको आसपासमा गुराँस रोपेको छ । पालिका अध्यक्ष मणीकुमार (सुवास) स्याङबो करसोङ पदमार्गसँगै झन्डीडाँडालाई विश्वकै नमूना पर्यटकीय गन्तब्य बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँछन् । ‘म त्यसैपनि पर्यटनप्रेमी हुँ । रोङका हरेक रमणीय स्थानलाई प्राथमिकताका साथ योजना बनाएर काम गरिरहेको छु, झन्डी त्यसकै एक नमूना हो । यसको प्रचारका लागि प्रशस्त काम गर्नुपर्नेछ,’ उनले भने । झन्डीडाँडामा भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६ सय २ किलोमिटरमा झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । दृश्यावलोकनका लागिमात्र नभइ वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो । झन्डीडाँडासम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट गुगल पोइण्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने हुँदै दिनभरि पैदल हिँडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । धजे आसपास होम–स्टे छन् । भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्याेदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–सहरमात्र नभइ भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । यो स्थानमा २०७८ सालमै प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गाउँपालिका अध्यक्ष स्याङ्बो वर्तमान वडाध्यक्ष सत्यम राई चौरासे, रम्भ्याङ सामुदायिक वन अध्यक्ष आशिष प्रधानलगायत स्थानीय अगुवा यसको व्यावसायिकताका लागि जुटिरहेका छन् । प्याराग्लाइडिङ संचालनपछि भारत कोलकातासम्मका पर्यटकसमेत यहाँ आकर्षित गर्ने पर्यटनकर्मीको लक्ष्य छ । प्याराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड्ने छ । यहाँबाट प्याराग्लाइडिङमा उडेर मिनी माउन्टेन झर्ने रुट बन्नसके त्यहाँबाट झापा धुलाबारी र काँकडभिट्टाका होटलमा बास बस्न पुग्न सकिने वडाध्यक्ष सत्यम राईको भनाइ छ । ‘भौतिक पूर्वाधार निर्माणका लागि यसपाली थप बजेट विनियोजन गरेर काम गर्ने योजना छ,’वडाध्यक्ष राईले भने । यहाँ आउने पर्यटकलाई लक्षित गरि रम्भ्याङ गाउँमा होम–स्टे विस्तार गरी पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाइएको छ । यहाँ सुन्तला फल्ने सिजनमा सुन्तलाबारीमा रमाउन सक्छन र अर्गानिक सुन्तलाको स्वाद लिन सक्छन् । यहाँ रक क्लाइम्बिङ, जिपलाइन र प्लाराग्लाइडिङजस्ता साहसिक खेलका लागि प्रशस्त सम्भावना छ । करसोङ पदमार्गमा पाइने दुर्लभ बनस्पती सुनाखरी फुलले पर्यटकलाई थप आकर्षित गर्ने गर्छ । पर्यटन समिति गठन इलाम । इलामको रोङ–६ रम्भ्याङस्थित पर्यटकीय स्थल झण्डी डाँडाको पर्यटन प्रवर्दन गर्न झण्डी डाँडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन भएको छ । रम्भ्याङको धजे भञ्ज्याङमा ६ नम्बर वडा कार्यालय द्वारा आयोजित एक भेलाले स्थानीय अगुवा डम्बर बहादुर राईको अध्यक्षतामा समिति गठन गरिएको हो । नव गठित समितिको सदस्य सचिव रन्जित राई, वडा प्रतिनिधि जीवन राई, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधि जीवन प्रधान, स्वयंसेविका डुकिमाया प्रधान राई, सामुदायिक बन प्रतिनिधि प्रेम कुमारी खड्का चयन भएका छन् । समितिले झण्डी डाडा पर्यटनको प्रवर्दन र विकास, चेतना बिकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटनलगायत अगाडि बढाउन दर्ता प्रक्रिया अगाडि बढाउने सदस्य सचिव राईले बताए । भेला रम्भ्याङ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष आशिष प्रधानको अध्यक्षता र वडा अध्यक्ष सत्यम राई चौरासेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।(युवराज गौतम, नेपाल न्यूज बैंक)