सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ओपनर तथा कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लागि ओपनर तथा कप्तान अनिलले सर्वाधिक ६२ रन बनाए । उनले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । उनले ३५ बलमा ६ चौका र २ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । अनिलको यो अर्धशतक प्रतियोगितामा नेपाली ब्याटरले बनाएको पहिलो अर्धशतक हो । कप्तान अनिल र अर्का ओपनर आसिफ शेखले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफले २९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए । आसिफ मौषम ढकालको बलमा १०औं ओभरको चौथो बलमा आउट भए । लाहिरु मिलन्थाले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडे । लाहिरु जिशान मक्सुदको एलबिडब्लु धरापमा परे । जिम्मी निशम १६ रनमा नट आउट रहे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन जोडे । उनले उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्ती २३ बलमा ३३ बनाउँदै रन आउट भए । सातौं विकेटका लागि अर्जुन र सोमपाल कामीले ५६ रनको साझेदारी गरे । सोमपालले १३ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाउँदै नट आउट रहे । ओपनर शिखर धवनले १४ बलमा ३ चौकाको सहयोगमा १४ रन जोडे । धवन पाँचौ ओभरको दोस्रो बलमा हर्ष थाकरको बलमा बोल्ड आउट भए । कर्णालीको पहिलो विकेटका रुपमा देव खनाल आउट भएका थिए । देव दोस्रो ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीको बलमा बोल्ड आउट भए । देवले ५ बलमा १ रन मात्र जोडे । चाल्डिक वाल्टनले १२ बलमा १ चौकाको सहयोगमा ८ रन बनाए । वाल्टनलाई मोहम्मद मोहसिनले एलबिडब्लु धरापमा पारे । चौथो विकेटका रुपमा जिशान मक्सुद रनको खाता नखोल्दै जेम्स निशमको बलमा एलबिडब्लु धरापमा परे । बाबर हायतले २४ बलमा १२ रन बनाए । पाँचौ विकेटका रुपमा आउट भएका बाबर मोहम्मद मोहसिनको बलमा जिम्मि निशमबाट क्याच आउट भए । जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले समान १ विकेट लिए । लगातार दुई खेलमा जितका साथ ४ अंकका साथ जनकपुर शीर्ष स्थानमा रहेको छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो । आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् । एनपिएलमा मंगलवार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो तथा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ ।