प्रधानमन्त्री ओली पुगे बेइजिङ

सोमबार, मंसिर १७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । चार दिने चीन भ्रमणका लागि काठमाडौंबाट प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ बेइजिङ पगेका छन् । उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गरेका थिए । 
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली काठमाडौंबाट आज बेइजिङका लागि प्रस्थान गरेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 
यसैगरी, प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने छन् । त्यस्तै बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । 
प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य पनि चीन गएकी छन् । त्यस्तै, प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीलगायत छन् । प्रधानमन्त्री ओली यही मङ्सिर २० गते स्वदेश फर्कने छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार