आजदेखि जेम्स स्कुलसँगैको महादेव खोलामा पुल निर्माण सुरु, यी हुन् बैकल्पिक बाटोहरु (सूचनासहित)

मंगलबार, मंसिर १८, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा धापाखेलस्थित मुल सडकको महादेव खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ । धापाखेलका दुवै वडा कार्यालयहरु (वडा नं. २३ र २४ नं. वडा) ले आज छुट्टा छुट्टै सूचना प्रकाशित गरी भोलिदखि धापाखेलको मूल सडक बुद्धविहार अगाडि (महादेव खोला) मा रहेको पुरानो पुल भत्काई नयाँ पुल निर्माण कार्य सुरु हुने जानकारी दिँदै उक्त बाटोमा चल्ने सवारी साधानहरुलाई बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छन् । 
महानगर २३ नं वडाका वडाअध्यक्ष जीवन महर्जन तथा २४ नं. वडाका वडाअध्यक्ष  दिनेश जंग पाण्डेले सोमबार सूचना प्रकाशित गर्दै वैकल्पिक बाटोहरु प्रयोग गर्न वडावासीहरुलाई अनुरोध गर्नु भएको हो । 

  • ठूला गाडीहरु श्री कृष्ण प्रणामी मन्दिरबाट सुनाकोठी हुँदै लगनखेल
  • हलुका सवारी साधानहरुलाई जाँदा धापाहाइट हुँदै लगनखेल
  • आउँदा इसिमोड हुँदै सिभिल होम पश्चिम गेट  हुँदै  धापाखेल
  • सिभिल होमको बाटो बिहान ६ बजेदेखि बेलुका ८ बजे सम्म मात्रै 

दुवै वडाअध्यक्षले जारी गर्नु भएको सूचनाअनुसार ठूला गाडीहरु (मालवाहक गाडीहरु, स्कुल बसहरु, सार्वजनिक ठूला बसहरु, लोकल बसहरु) का लागि धापाखेलबाट आवत जावत गर्न श्री कृष्ण प्रणामी मन्दिरबाट ठेचो, सुनाकोठी हुँदै सातदोबाटो, लगनखेलको रुट तय गरिएको छ ।  

May be an image of text
हलुका दुई पाडग्रे, चार पाड्ग्रे गाडी, निजी गाडीहरु तथा विद्यालयका भ्यानहरुलाई धापाखेलबाट जाँदा धापाहाइट भई सातदोबाटो र आउँदा इसिमोडबाट जेम्स स्कुल पछाडिबाट सिभिल होम पश्चिम गेट भई धापाखेल आउने व्यवस्था मिलाइएको छ । 
सिभिल होमको बाटो फर्कंदाका सवारी साधानहरुको लागि बिहान ६ बजेदेखि बेलुका ८ बजे सम्मको लागि मात्र उक्त बाटो प्रयोग हुने छ । यो व्यवस्था पुल निर्माण कार्य सम्पन्न नभएसम्मको लागि कायम रहने दुवै वडा कार्यालयको सूचनामा उल्लेख छ । यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति वडाकार्यालय क्षमाप्राथी रहेको पनि सूचनामा उल्लेख छ ।  
पक्की पुल निर्माणका लागि ठेक्का पाएको ठेकेदार कम्पनीले पुल निर्माणको काम सुरु गरिसकेको छ ।  सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विभाग अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौंडा मकवानपुरले पुलका लागि आवश्यक बजेट विनियोजना गरेपछि पुल निर्माण कार्य अघि बढेको हो । 

May be an image of text
पुल निर्माणका लागि श्री गणेश–पृथ्वी जेभी कोटेश्वरले ठेक्का पारेको छ । बक्स कल्भर्ट प्रकृतिको उक्त पुलको लम्बाई ८ मिटर हुनेछ । चौडाई ११ मिटरको हुने प्राविधिक प्रतिवेदन रहेपनि ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले पुलको चौढाइका लागि छुट्टै बजेट व्यवस्थापन गरिने जानकारी दिनुभयो । 
बैकल्पिक सडक मार्गका विषयमा गत शनिबार सिभिल होस समाजसँग ललितपुर महानगर प्रमुख महर्जनको उपस्थितिमा दुवै वडाका वडाअध्यक्ष तथा जनप्रतिनिधि, स्थानीयवासीसँगको छलफलका क्रममा महानगर प्रमुख महर्जनले महानगरले पुलको चौडाई बढाउन योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।   यो पुल ५ मिटरको मात्रै रहेको थियो । 
ठेक्काको अवधि दुई वर्षको रहेपनि निर्माण कम्पनीले ६ महिना भित्र पुल निर्माण सक्ने गरी काम थालेको ललितपुर महानगर २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो । 
पुल निर्माण सुरु भएपछि मुल सडक बन्द हुने हुँदा यो बाटो भएर आउजाउ गर्ने सर्वसाधारणलाई ४ देखि ६ महिनासम्म धैर्य गरिदिन वडाअध्यक्ष महर्जनले आह्वान गर्नु भएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार