सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारपसार, धरानबाट ६९० किलो गाँजा बरामद

बुधबार, मंसिर १९, २०८१
Global Ime Bank

सुनसरी । धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ३३० किलो र बा१झ ५१२७ नम्बरको गाडीबाट ३६० किलो गाँजा बरामद गरेको हो । प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विकलाई नियन्त्रणमा लिएको छ । ती गाडीमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्‍ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी खटिएको थियो । प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३३० किलोग्राम गाँजासहित चालक विकलाई पक्राउ गरेको थियो । प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा१झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा नियन्त्रणमा लिएको थियो । ती गाडीका चालक चालक फरार भएका थिए । उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिकभित्र प्याक गरेको अवस्थामा ३६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो । प्रहरीले हाल फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । नेपालमा गाँजा प्रतिबन्धित लागुऔषधका रूपमा चिनिन्छ। यी सवारीसाधन सरकारी भने होइनन्। सरकारी गाडीको नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारेको पाइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार