सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । विराटनगरले बुधबार रोमाञ्चक खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्यो । पहिलो दुई खेल हारेको विराटनगरले तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९१ रन बनाएको थियो । लोकेश बमले ४७ बलमा ७१ रन बनाएपछि विराटनगरले १ बल अगाडि लक्ष्य पूरा गर्यो । लुम्बिनीले जारी प्रतियोगितामा सर्वाधिक स्कोर बनाएको थियो । विराटनगरले १९.५ ओभरमा १ सय ९३ रन बनाएको हो । विराटनगरलाई अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता थियो । विवेक यादवले पहिलो दुई बल वाइड फाल्न पुगेका थिए । तेस्रो बलमा उनले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे ।
त्यसपछि आएका क्रिस सोलले पहिलो बलमा कुनै रन प्रहार गर्न सकेनन् । तर आफूले सामना गरेको दोस्रो बलमा छक्का प्रहार गरेका उनले अर्को दुई लगातार बलमा चौका प्रहार गरी विराटनगरलाई विजय दिलाए । सोलले ३ बलमा अविजित १६ रन बनाए । विवेक निकै खर्चालु भए । उनले ३।५ ओभरमा ६४ रन खर्चन पुगे । प्लेयर अफ द म्याच लोकेशले ३ चौका र ६ छक्का प्रहार गरे । रामोन सिमोन्ड्सले पहिलो ओभरमै इस्मातुल्लाह आलमलाई आउट गरी लुम्बिनीलाई राम्रो सुरुआत दिलाएका थिए । अर्का ओपनर मार्टिन गप्टिलले १७ बल खेलि ६ चौकासहित २८ रन बनाए । राजेश पुलामी ४ रन र निकोलस कृतन पहिलो बलमै आउट भए पनि लोकेशले बसिर अहमदसँग पाँचौं विकेटमा ४० बलमा ७७ रन जोडेका थिए । बसिरले २३ बल खेलि ४ चौकासहित ४० रन बनाए । प्रतिस जिसी ३ बलमा ६ रनमा आउट भए पनि दीपक बोहराले ८ बलमा अविजित ९ रन बनाए । लुम्बिनीबाट दुर्गेश गुप्ताले ३ विकेट लिए । उनले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए । सिमोन्ड्सले ४ ओभरमा ३३ र साद बिन जाफरले ४ ओभरमा ३५ रन खर्चेर २–२ विकेट लिए । यस्तै पहिलो इनिङ्समा कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । उनले २९ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय आशुतोष घिरोहिया १३ बलमा २ चौका र १ छक्का प्रहार गरि १५ रन बनाई रन आउट भए भने १९ बलमा ३ चौकासहित १७ रन बनाएका अर्जुन साउदलाई आलमले बोल्ड गरे ।
रोहितले टम मुर्ससँग तेस्रो विकेटमा ३३ बलमा ६७ रनको साझेदारी गरे । अनिल खरेलको बलमा लगातार तीन छक्का प्रहार गरेका मुर्स १७ बलमा ३० रन बनाई रनआउट भए । लुम्बिनीका चार ब्याटर रन आउट भएका थिए । त्यसमा सन्दीप जोरा १२ र बेन कटिङ ६ रनमा थिए । जाफरले १३ बलमा १ छक्कासहित १५ रन बनाए । अन्तिम ओभरको पहिलो दुई बलमा बसिरलाई लगातार छक्का प्रहार गरेका विवेकले ७ बलमा कुल ३ छक्कासहित १९ रन बनाई अविजित रहे । सिमोन्ड्स २ रनमा अविजित रहे । विराटनगरबाट आलम, पुलामी र सन्दीपले १–१ विकेट लिए ।