चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

बिहीबार, मंसिर २०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । चिनियाँ समकक्षीको निमन्त्रणामा मङ्सिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन् ।  भ्रमणका क्रममा बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबिच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता गरेको छैन  : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरेको बताएका छन् ।  बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफमा चीन भ्रमणका क्रममा ऋण सम्झौता नभएको दाबी गरेका हुन् ।  चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको ओ‌लीको भनाइ थियो । ‘अस्तिदेखि मैले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ, छलफल पनि भएन । हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरू गर्छौं र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा', प्रधानमन्त्री ओ‌लीले भने, 'अहिले हामीले जे प्राप्त गरेका छौँ, त्यो ऋण होइन भन्नेकुरा धेरैपल्ट भनिएको छ । अब धेरै दोहोर्‍याउनु नपरोस् भन्ने मेरो आग्रह छ, ऋण होइन, ऋणसम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ यो ? सधैँ ऋण, ऋण, ऋण किन सारंगी बजेको छ ऋणको ? होइन भनेर पटक–पटक भनेका छौँ । ऋणसँग यो सरोकार राख्दैन ।’ चीन भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार