बारा गढीमाई मेलामा लाखौं मानिसको घुँईचो, मौलापुर द्वारा बाटो मर्मत

बिहीबार, मंसिर २०, २०८१
मयुर प्लाई
Global Ime Bank

रौतहट । बिश्व प्रसिध्द बारा बरियारपुरस्थित लागेको पंचवर्षीय गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ । मेलामा आउने जाने यात्रुलाई सहज हुने गरी मौलापुर नगरपालिकाले मूल बाटो मर्मत सुरु गरेको छ । गत असोज महिनामा लालबकैया नदीमा आएको बाढीबाट क्षतिग्रस्त जयनगर–मौलापुर– बिरगंज सड़क मर्मत गर्न सम्बन्धित निकाय तथा सरकारले वास्ता नगरेपछि मौलापुर नगरपालिकाले मर्मत तथा निर्माण कार्य सुरू  गरेको हो । एतिहासिक पञ्चवर्षीय गढीमाई मेलालाई ध्यानमा राखेर नगरपालिकाले सडक मर्मत तथा निर्माण कार्य सुरु गरेको मेयर रिना कुमारी साहले बताएकी छन्। यसैबीच, पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मौलापुर नगरपालिकाले गरेको कार्य सराहनीय भएको बताएका छन् । केन्द्र र प्रदेश सरकारको मातहतमा रहेका  यस्ता सडकहरूको मर्मत र संचालनको जिम्मा सम्बन्धित सरकारहरूले नै लिनुपर्ने हो तर यी सरकारहरू अनैतिक कर्ममा लागेकोले बाढीबाट क्षतिग्रस्त संरचनाहरू अलपत्र परेको अध्यक्ष साहले टिप्पणी गरेका छन् ।  ‘यति महिना पुगि सक्दा पनि क्षतिग्रस्त आफनो मातहतको आयोजनाहरूमा ध्यान न जानु गैर जवाबदेहीताको पराकाष्ट हो । केन्द्र र प्रदेश सरकारले यसरी गैरजिम्मेवार र अनैतिक कार्य गर्दा पनि कांग्रेस–एमाले गठबन्धनका झोलेहरूले चुप बस्नु दुःखद हो,’ उनले भनेका छन् ।  बारा बरियारपुर स्थित गढीमाई मन्दिरमा लागेको पंचवर्षीय मेलामा यस पटक २ करोड मानिस आउने आयोजकको अनुमान रहेको छ । मेलामा पुग्ने चौतर्फी बाटोमा १०११५ किलोमिटर टाढा बाट नै हजारौँ मानिसको घुँईचो लाग्ने गर्दछ ।  गत १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक उदघाटन गरेको बारा बरियारपुरस्थित गढीमाई मेलामा अहिले लाखौँ मानिसको घुँईचो लागेको छ।  गढीमाई मन्दिरमा यस पटक २३ गते आइतबार बली प्रदान गरिने मूल पूजारी मंगल चौधरीले बताएका छन् ।  गढीमाई मन्दिरका मूल पुजारी चौधरीसँग मिलेर मूल तान्त्रिक उमाशंकर धामी कछाडियाले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशुबली सुरु हुने चलन रहिआएको छ । रोग शोक निको हुने, सन्तान प्राप्तिका साथै माताको नामले गरिएको भाकल पूरा भएपछि पंचवर्षीय मेलामा हजारौँ मानिसले परेवा, बोका, राँगालगायतको बली चढाउने गर्दछन् । मेलामा नेपालको अधिकांश जिल्लाका मानिसका साथै भारतबाट लाखौं मानिस आउने गर्दछन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार