तीनवटा वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कार

महिला स्वास्थ्य स्वयंसेविका, टिएपपीलाई पनि सम्मान 
बिहीबार, मंसिर २०, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर । ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका तीन वटा वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको छ ।  २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा बिहीबार महानगरले वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको हो ।  वडा नंं. २० को समिति प्रथम, वडा नं. १३ को समिति दोस्रो र वडा नं. ३ को समितिले तेस्रो पुरस्कार प्राप्त गरे । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले प्रथम हुनेलाई ६० हजार , दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुने समितिलाई २० हजार नगदसहित सम्मान पत्र प्रदान गरे ।  यसैगरी कार्यक्रममा वडाका उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी) लाई पनि सम्मान गरिएको थियो । यसका साथै कार्यक्रममा प्रत्येक वडाका एकजना उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरिएको थियो । यसैगरी अवकाश प्राप्त गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका पनि कार्यक्रममा सम्मानित भए । ललितपुर महानगरमा २९ वटा वडा छन् ।  कार्यक्रममा ललितपुर महानगरका प्रमुख महर्जनले कोरोना र डेगु नियन्त्रणमा महिला सामुदायिक स्वास्थ्य स्वयसेविका र  उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरकको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘उहाँको योगदान महत्वपूर्ण छ, घर घरमा पुगेर उहाँहरुले दिनुहुने स्वास्थ्य परामर्श सम्मान गर्न लायक छ ।’

462648714_1283998696060832_1181251658116940006_n-1733401950.jpg

 बाल मृत्युदर र मातृ मृत्युदर घटाउन उहाँहरुको योगदान महत्वपूर्ण भएको नगर प्रमुख महर्जनले दाबी गरे । ललितपुर महानगरको महिला स्वास्थ्य स्वयमसेवक कोषमा रहेको  नौ लाख रकममा थप नौ लाख थपेर १८ लाख पु¥याउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।  सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले स्वास्थ्य स्वयसेविकासम्बन्धी कार्यविधिको मस्यौदा तयार हुँदै गरेको जानकारी दिए । उनले भने, ‘कार्यविधि बनेपछि मात्रै सेवा सुविधाको कुरा, संस्थाको कुरामा छलफल गर्न सकिन्छ ।’ नागरिकलाई निरोगी राख्न  टिएच र महिला स्वास्थ्य स्वयसेविकाको भूमिका महत्वपूर्ण भएको उनको धारणा थियो । 
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले मातृ मृत्युदर र बाल मृत्युदर घटाउने महत्वपूर्ण भूमिका स्वास्थ्य स्वयमसेविकाहरुको हुने औंल्याए ।  ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घरोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताइन् । 
ललितपुर महानगरमा अहिले १ सय ८७ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका र २ सय ६१  टिएचपी २८१ छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार