सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा काठमाडौंकी बिनिता कपालि वोमन च्याम्पियन भएकी छिन् । यससँगै बिनिताले माघमा हुने १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेकी छिन् । उनले अन्तिम ७ औं चरणको स्पर्धामा धनुषाकी शान्ति धिमाल माथि जीत दर्ता गर्दै ६.५ अंक जोडेर विजयी बनेकी हुन् । यस्तै चितवनकी लक्ष्मी कँडेल ५.५ अंक बनाएर दोश्रो स्थानमा रहन सफल भइन् ।
उनले पनि राष्ट्रिय खेलमा स्थान सुरक्षित बन्न काठमाडौकि एञ्जेल महर्जन सँग बराबरी खेलेकी छिन् । समान ४–४ अंक जोडेर संयुक्त तेस्रो स्थान ओगट्दै छनौट हुने क्रममा नेपालगञ्जकी ईशा गिरि, धनुषाकी शान्ति धिमाल, काठमाडौकी दानिशा पुरी, पर्साकी शुशीला गुरुङ, झापाकी पुनम प्रसाईं र काठमाडौकि एञ्जल महर्जन रहेकी छिन् । काठमाडौकी रिया श्रेष्ठ ३.५ अंक जोडेर ९ औं स्थान प्राप्त गर्न सफल भइन्। रिया सँगै यी ९ खेलाडीले गत राष्ट्रिय प्रतियोगिताका शीर्ष ३ खेलाडी काठमाडौकि सिन्दिरा जोशी, झापाकी कृतिसारा अधिकारी र मकवानपुरकि पूजा भण्डारी संग प्रतिस्पर्धामा उत्रने पक्का भएको छ । यसैगरी भक्तपुरको बाचमारी स्थित होटल सिटि गाउँ सभाहलमा सम्पन्न ८ औं चरणको खेल पश्चात् पुरुष तर्फ काठमाडौंका पुरुषोत्तम सिलवाल, दोलखाका आशिष् फूँयाल र रौतहटका एफएम रुपेश जैसवाल समान ६–६ अंक जोडेर संयुक्त पहिलो स्थानमा रहन सफल भएका छन् ।
काठमाडौका धिरेन राई, ललितपुरका सुरोज महर्जन, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, मकवानपुरका सिएम मिलन लामा, भक्तपुरका निकेन कुसाथा समान ५-५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा छन् । काठमाडौका सुरज सिंह, धनुषाका सुशील चौधरी, काठमाडौका विनय थापा, सिएम नवीन तण्डुकार र प्रेमकृष्ण महर्जन ५–५ अंक बटुल्दै संयुक्त तेस्रो स्थानमा छन् । भक्तपुर सूर्य विनायक नगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा ४० जना राष्ट्रिय खेलाडीहरुले छनौटका लागि प्रतिस्पर्धा गरिरहेका छन् । पुरुष तर्फ जम्मा ९ जना खेलाडी छनौट भइ गत राष्ट्रिय च्याम्पियन शीर्ष तिन खेलाडी झापाका राजन सुवेदी, शुश्रुत दहाल र मकवानपुरका क्षितिज भण्डारी सँग २५ औं नेपाल च्याम्पियन प्रतिस्पर्धामा स्पर्धा गर्नेछन् । सूर्य विनायक नगर प्रमुख बासुदेव थापाले च्याम्पियन ट्रफि प्रदान गर्ने तय भएको समापन कार्यक्रम पूर्व अन्तिम चरणको खेल आज बिहान ८ बजे शुरु हुनेछ ।