सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमितको उपचार तथा राहतसम्बन्धी निर्देशिका जारी गरेको छ । महानगरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमितहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका जारी गरेको हो । निर्देशिकाअनुसार उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन भएको छ । निर्देशिकाले कोरोनाका कारण मृत्यु भएका वा प्रभावितहरुलाई आर्थिक सहयोग प्रदान गर्न बाटो खोलेको छ । राहत तथा सहयोगका लागि कोराना प्रभावितका तर्फबाट मृत्यु भएको वा अस्पतालबाट डिस्चार्ज भएकोे ३५ दिनभित्र उपसमितिसमक्ष निवेदन दिनुपर्नेछ । निर्देशिका लागू हुनु पूर्वका बिरामीको हकमा पनि निर्देशिका जारी भएको ३५ दिन भित्रै निवेदन दिनु पर्नेछ । पूर्ण कागजातसहितको निवेदन प्राप्त भएको १५ दिनभित्र उपचार र राहतसम्बन्धी सहयोग प्रदान गरिने जारी निर्देशिकामा उल्लेख छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकार नगरबासीको सुखदुखको साथी भएको बताउँदै कोरोना प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘यो निर्देशिकाले दुखमा परेका सहयोग गर्ने बाटो खोलिदिएको छ । ’ महानगरस्तरीय विपद् व्यवस्थापन समितिको जेठ २० गते बसेको बैठकले प्रति मृतक एक लाख, भेन्टिलेटर र आइसीयू बसेकालाई जनही ५० हजार, कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थामा उपचार गराई संक्रमणमुक्त भएकालाई २५ हजार प्रदान गर्ने निर्णय गरेको थियो । ललितपुर महानगरका कर्मचारीलाई पनि कोरोना प्रभावित नगरवासीसरहकै सुविधा उपलव्ध हुने निर्देशिकामा उल्लेख छ ।
सहयोग प्राप्त गर्न पहिचान खुल्ने कागजात, कोभिड पोजेटिभ रिपोर्ट, अस्पताल भर्ना–डिस्चार्ज भएको मिति उल्लेखित कागजात, मृत्यु प्रमाणपत्र (अस्पतालमा मृत्यु हुनेका लागि) तथा सम्बन्धित वडाकार्यालयको मृत्यु दर्ता प्रमाणपत्र, मृतकसँंगको नाता सम्बन्ध खुल्ने कागजात र निवदेकको परिचयपत्र, सम्बन्धित वडा कार्यालयको राहत सहयोग सिफारिस पत्र, होम आइसोलेसनमा वा अन्यत्र मृत्यु हुनेको हकमा वडा कार्यालयको सिफारिस तथा शव व्यवस्थापन पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ । उक्त निर्देशिकामा व्यवस्था गरिएको राहत तथा उपचार सहयोग वैशाख २ यताका बिरामीले पाउनेछन् । नगरप्रमुखको संयोजकत्वमा गठित महानगरीय विपद् व्यवस्थापन समितिले स्थगित नगरेसम्म उपचार तथा राहत सहयोग जारी रहनेछ । उपचार तथा राहत सहयोग श्रीमानको मृत्यु भए श्रीमतीलाई, श्रीमतीको मृत्यु हुँदा श्रीमानलाई, छुट्टीभिन्न नभएका छोराछोरी वा मृत्युअघि पालनपोषण गर्दै आएका व्यक्ति र वडाको सिफारिस प्राप्त व्यक्तिलाई उक्त सहयोग प्रदान गरिनेछ । महानगरीय विपद् व्यवस्थापन समितिको आइतबारको बैठकमा उपप्रमुख गीता सत्याल, वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जन, वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जन, वडा नं १३ का वडाअध्यक्ष गणेश केसी, २० का चन्द्र महर्जन, ९ का वडाअध्यक्ष तथा प्रवक्ता राजु महर्जनलगायतको उपस्थिति थियो ।