मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

आइतबार, मंसिर २३, २०८१
Global Ime Bank

जोमसाम (मुस्ताङ) । ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ । आफ्ना प्रतिनिधिसहित मुस्ताङ पुगेका महानगर प्रमुख चिरीबाबु महर्जन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनंसिंह लालचनले समझदारी पत्रमा हस्ताक्षर गरेपछि यी दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको हो । घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लाको एक स्थानीय तह हो ।  पूर्वाधार निर्माण, सामाजिक विकास, सम्पदा संरक्षण, पर्यटन प्रबद्र्धनका असल अभ्यास आदानप्रदान गर्न भगिनी सम्बन्ध कायम गरिएको हो । 
समझदारी पत्रमा हस्ताक्षरपछि महानगर प्रमुख चिरीबाबु महर्जनले  सम्पदा संरक्षण र अन्य आवश्यक क्षेत्रमा ललितपुर महानगरले सहयोग गर्ने बताए । उनले भने, ‘ प्रकृतिले यो पालिकालाई छताछुल्ल वरदान दिएको रहेछ, यसको संरक्षण गर्न हामी कुनै न कुनै रुपमा जोडिने छौँ ।’ विना टेण्डर महानगरले निर्माण गरेका मूर्त सम्पदा र सडक निर्माण घरपझोङले अनुसरण गर्न सक्ने काम भएको औंल्याए ।  घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भगिनी सम्बन्धपछि आफूलाई अभिभावक पाएको महसुस भएको बताए । निमन्त्रणालाई स्वीकार गरेर नगरप्रमुखसहितको प्रतिनिधिमण्डल पालिकामा आउनु भएकोमा उनले खुशी व्यक्त गरे । हिमालपारिको जिल्ला भएकाले यहाँ गर्नुपर्ने काम प्रशस्तै भएको उल्लेख गर्दै वार्षिक बजेट न्यून हुँदा काम गर्न असहज भएको सुनाए ।  उनले स्वास्थ्य शिक्षा, पूर्वाधार निर्माणमा गाउँपालिकाले गरेको कामको चर्चा गरे । 
घरपझोड गाउँपालिकाका उपाध्यक्ष जमुना थापा मगरले गाउँपालिकाले राखेको प्रस्ताव स्वीकार गरेर महानगरको टोली मुस्ताड आएकोमा खुशी व्यक्त गरिन् । घरपझोङ गाउँपालिका हिमाल पारीको जिल्लाको पालिका भएकाले धेरै कुरामा पछि रहेको जनाउँदै ललितपुर महानगरबाट धेरै कुरा सिक्न सकिने बताइन् । उनले भनिन्, ‘ हाम्रोमा गर्नुपर्ने काम धेरै छन्, देशभर नै नाम कहिलिएको अग्रणी ललितपुर महानगरपालिकासँग सिकेर धेरै गर्नुछ ।’ ललितपुर महानगरका प्रवक्ता एवम  वडा नं. ९ का वडाअध्यक्ष राजु महर्जनले घरपझोङ गाउँपालिका र ललितपुर महानगरको संस्कृति र सभ्यताबीच एकरुपता रहेको बताए । 
घरपझोङसहित पाँचवटा पालिकासँग महानगरले भगिनी सम्बन्ध कायम गरेको बताउँदै भगिनी सम्बन्धले पालिकाबीच असल अभ्यास आदानप्रदान गर्न सजिलो हुने धारणा राखे । एक आपसका असल अभ्यासहरु सिक्दै र सिकाउँदै जाँदा सम्बन्ध अझै बलियो हुने उनको धारणा थियो ।  ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भगिनी सम्बन्ध कायम भएपछि धेरैवटा ढोका खुल्ला खुलेको बताइन् । उनले भनिन्, एक अर्काको विकासमा साझेदार हुन, एक अर्काको असल अभ्यासहरुको अनुकरण र अनुसरण गर्न अब धेरै सहज हुन्छ ।  प्रकृति र संस्कृति र इतिहासको त्रिवेणी धामको रुपमा रहेका पालिकासँग मितेरी सम्बन्ध गाँस्न पाउँद खुशी लागेको उनले प्रष्ट पारिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले  दुई पालिका दरिलो सम्बन्धमा बाधिएको बताउँदै देशकै अग्रणी पालिका र दुर्गम जिल्लामा रहेको पालिकाबीच गाँसिएको सम्बन्धले घरपोझोङ गाउँपालिका लाभान्वित हुने धारणा राखे । वडा नं. २ का वडाअध्यक्ष मनबहादुर हिराचनले भगिनी सम्बन्ध स्थापना हुँदा खुशी लागेको बताए । यो पालिका मुख्य आकर्षक कृषि र पर्यटन भएको बताउँदै पालिकाले पनि यी क्षेत्रलाई नै प्राथमिकतामा राखेको जानकारी दिए । विं.सं. २०७४ सालको स्थानीय निर्वाचन अघि मुस्ताङ जिल्ला साविकाका मार्फा, टुकुचेको दुईवटावडाहरु जोमसोस गाउँ समितिलाई समेटेर घरपझोड गाउँपािलिका घोषणा गरिएको हो । यो गाउँपालिकामामा ५ वटा वडाहरु छन् । पालिकामा तीन हजार एक सय ८४ जनसंख्या रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ०५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार