सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १७ त्यागलमा मुख्य कार्यालय रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जावलाखेलमा १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीले १६ औं वार्षिक साधारण सभा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाएर सम्पन्न गरेको हो । सहकारीले वार्षिक साधारण सभाकै क्रममा उत्कृष्ठ अंकसहित माध्यामिक शिक्षा कक्षा १० (एसईई) उर्तीण सेयर सदस्यका छोरा छोरीहरुलाई नगद पुरस्कार तथा उत्तीर्ण विद्यार्थीलाई यातायात खर्चसहित सम्मान गरेको छ । यस्तै माध्यामिक शिक्षा कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका छोरा छोरी ३१ जनालाई सम्मान गरेको छ । सहकारी संस्थाले साधारण सभामै संस्थाका ३४ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । यस्तै सहकारीले पीएचडी तथा एमफिल पूरा गरेका सेयर सदस्यहरुलाई दिँदै आएको विशिष्ठ शिक्षा सम्मान यस वर्ष ६ जना एमफिल पूरा गरेका सेयर सदस्यलाई दिएको छ । सहकारीले उत्कृष्ठ बालबचतकर्तालाई पनि वार्षिक साधारण सभाका क्रममा सम्मान गरेको छ । 'आपसी सहयोग, सद्भाव साथै शिक्षक हितका लागि सहकारी' भन्ने मुल नाराका विं.सं.२०६५ साल मंसिर ५ गते ललिपतुर जिल्लाभरी कार्यक्षेत्र रहने गरी ६ लाख ५० हजार सेयर पूजीँबाट सुरु भएको यो सहकारीमा २०८० सालमा आइपुग्दा सेयर पूजी ३ करोड ७९ लाख ७५ हजार पुगेको छ । सहकारीले चालु आर्थिक वर्षमा सेयर पूँजी २० लाख रुपैयाँ थपेर ३ करोड ९९ लाख ७५ हजार पुरयाउने लक्ष्य लिएको छ । पना कालमा ६५ जना सेयर सदस्य रहेकोमा २०८०-२०८१ मा आइपुग्दा यो संख्या बढेर १९०४ पुगेको छ । सहकारी आव.२०८० -२०८१ मा सदस्यहरुबाट ७१ करोड ५१ लाख १७ हजार ७८३ रुपैयाँ कारोबार गरी सेयर सदस्यहरुलाई आर्थिक, सामाजिक शैक्षिक र सांस्कृतिक सेवा प्रदान गरेको अध्यक्ष शुक्र थापाले १६औं वार्षिक साधारण सभामा प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष थापाले साधारण सभामा पेश गरेको वार्षिक प्रतिवेदन अनुसार सहकारीमा आव २०८०-२०८१ मा बचत मौज्दात २८ करोड ५९ लाख २ हजार ६६४ रुपैयाँ, कर्जा लगानी २४ करोड ४६ लाख ६० हजार १६४ रुपैयाँ तथा खुद मुनफा ९१ लाख ६६ हजार २ सय रुपैयाँ गरेको छ । सहकारीले साधारण बचत, विशेष बचत, बाल बचत, मुद्दती बचत, मासिक बचत, ज्येष्ठ नागरिक बचत, स्वास्थ्य हित बचत, कर्मचारी हित बचत, विपद् व्यवस्थापन बचत, दिगो प्रतिफल बचत, बोनस बचत गरी ११ प्रकारको बचतको व्यवस्था गर्दै ती बचतका लागि ५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज दिने गरेको छ । सहकारीले कर्जातर्फ धितो जमानत कर्जा (१ देखि १० वर्ष) ११ देखि १२ प्रतिशत, सामूहिक जमानत कर्जा २ वर्ष १२ प्रतिशत, घर निर्माण कर्जा ५ देखि १० वर्ष १२ प्रतिशत, शैक्षिक कर्जा ५ देखि १० वर्ष १२ प्रतिशत, सहुलियत कर्जा १ वर्ष १२ प्रतिशत, मुद्दती पत्र धितो कर्जा मुद्दती अवधि मुद्दती ब्याजदर प्लस २ प्रतिशत, हायर पर्चेज कर्जा २ वर्ष १२ प्रतिशत, कर्मचारी आवास कर्जा १० वर्ष १० प्रतिशत, सदस्य हित सरल कर्जा ५ वर्ष १०.५ प्रशितश ब्याज लिने गरेको छ । साधारण सभाका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले जानेर नजानेर सहकारीमा ठगी गर्ने प्रबृत्ति बढेको भन्दै सहकारीको सिद्धान्तलाई नियमन गर्नेहरु नै आफ्नो अनुकूल सहकारीलाई चलाउनेमा लागेको देखिनु विडम्बना भएको बताउनुभयो । उहाँले सहकारी सिद्धान्तले आर्थिक पारदर्शिता खोजेको छ भन्नुहुँदै सहकारीको लक्ष्य अनुसार निष्कलंक भएर राम्रो काम गर्न आग्रह गर्नुभयो । 'आपतविपदमा संस्थाले ठूलो काम गर्न सक्छ, समाज पूँजीबादीको हिततीर मात्रै गएको छ, पैसा नहुनेहरुको लास घरबाट नउठ्ने अवस्था छ, केही सहकारीले राम्रो काम पनि गरेका छन्। यस्तो वेलामा समाजका कमजोर वर्गमा लागि सहकारी महत्त्वपूर्ण भूमिका खेल्न सक्छ', सभामुखले भन्नुभयो । उहाँले शिक्षकहरूको हीतका लागि सानोसानो पूँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभरि अगुवाई गरेर अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो । 'रचनात्मक काम गर्दै आर्थिक रुपमा अगाडि बढेको यश सहकारीको सफलताको शुभकामना व्यक्त गर्दछु, सामुहिक काम बाट समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने यस संस्थाले परिभाषित गरेको छ, यस संस्थामा आवद्ध शिक्षकलाई सन्तुष्टि दिने निकै ठूलो रचनात्मक काम संस्थाले गरिरहेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु, साथै आगामी दिनहरुमा सहकारीहरुको अगुवाई गरेर नमुना बन्न आग्रह गर्दछु', सभामुख घिमिरेले भन्नुभयो । उहाँले सहकारी क्षेत्रको स्थायित्व र दिगो विकासका लागि सहकारीका नियमाक निकायलाई बलियो बनाउनुपर्छ भन्नेमा जोड दिनुभयो । शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिन्छ १६ओैं वार्षिक साधारणसभामा सभामुख घिमिरेले भन्नुभयो, शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ । 'शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो,आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन्, राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन, परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरुरी छ', सभामुख घिमिरेले भन्नुभयो । 'संसदमा विद्यालय शिक्षा विद्येयक पेश भएर संसदीय समितिमा छलफलका क्रममा रहेको छ, संसदीय इतिहासमा यो विद्येयकमा १ हजार ८ सय भन्दा बढि संशोधन परेको छ, संसदहरुसंग निरन्तर छलफल भइरहेको छ, साझा धारणा सहमतिका लागि धेरै प्रयत्न गरिएको छ, राजनीतिक दलहरुबीच छलफल गरी आधारभूत कुराहरु टुंगोमा पुर्याएर निकास दिने तयारीमा छौं', उहाँले भन्नुभयो ।