सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडाको मखुण्डोल महिला समूहले हालै आफ्नो ८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आफ्ना ३ जना ज्येष्ठ सदस्यलाई दोसाल्ला ओढाएर सम्मानसहित समूहको वार्षिक प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन पारित गर्दै बालकुमारी मन्दिर सुनाकोठीमा महिला समूहले वार्षिक साधारण सभा सम्पन्न गरेको हो । महिला समूहले ज्येष्ठ सदस्य ठूलीकान्छी खड्का, इन्दिरा थापा मगर तथा शारदा थापामगरलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । ज्येष्ठ सदस्यहरूलाई वडा सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि इन्द्रा श्रीश, उद्धब बस्नेत तथा हरिकृष्ण महर्जनले दोसल्ला ओढाउनु भएको थियो । वि.सं २०७२ साल जेठ १२ गते मखुण्डोल टोलमा स्थायी रुपमा बसोबास गर्ने महिला दिदी बहिनीहरुको भेलाले मखुण्डोल महिला समूह गठन गरेको हो । समूह महानगरको समाजकल्याण महाशाखामा २०७२ साल चैत २८ गते विधिवत दर्ता भएको हो । सुरुमा १०० रुपैयाँ बचत गरी कार्य प्रारम्भ गरेकोमा उक्त बचत रकममा समयानुकुल बृद्धि गर्दै हाल एक हजार पु¥याइएको छ । संकलित बचत रकम समूहका सदस्यहरूलाई ऋण लगानी गर्दा १ प्रतिशत सेवा शुल्क र १२ प्रतिशतका दरले ब्याज लिने गरिएको छ ।
११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वडाले आफ्नो वडा भित्र क्रियाशील महिला समूहलाई पुरस्कार दिन सुरुवात गरेकोमा सरुकै वर्ष पुरस्कृत हुन सफल भएको थियो । समूहको कार्यक्षमताका आधारमा वडाले समूहलाई तेस्रो पुरस्कार प्रदान गरेको थियो । पुरस्कार स्वरुप वडाबाट पाएको ५ हजार रुपैयाँमा समूहले ७ सय रुपैयाँ थप गरी महानगर २४ नं. वडा मै रहेको मानवसेवा आश्रमलाई खाद्य सामग्री तथा फलफुल खरिद गरी प्रदान गरेको संस्थाकी अध्यक्ष प्रमिला श्रेष्ठले वार्षिक साधारण सभामा पेश गरेको प्रतिवेदनमा उल्लेख छ । समूहमा हाल ८४ सदस्य रहेका छन् । समूहले ज्येष्ठ नागरिक सम्मान, स्वास्थ्य उपचारमा सहयोग, मृतक परिवारलाई शान्तवना र आर्थिक सहयोग, मठ मन्दिरमा आर्थिक सहयोग तथा टोल सरसफाई, बृक्षारोपण जस्ता सामाजिक कार्यमा सक्रियता देखाउँदै आएको छ ।
समूहले धापाखेल मखुण्डेलमा नवनिर्मित नागेश्वर धाम मन्दिरलाई १ लाख ३१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । समूहले नागदहमा लाग्ने मेला तथा ऋषि पञ्चमीमा स्वयम् सेवकका रुपमा सदस्य परिचालन गर्नुका साथै मखुण्डोलकै कृष्ण मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई प्रसाद वितरण तथा नाचगान व्यवस्थापनमा सहयोग गरेको थियो । समूहले आफ्ना सदस्य चण्डिका आले मगरको निधन भएको हुँदा उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकको परिवारलाई ७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । यसका अतिरिक्त समूहले वडा भित्र तथा वडाको अगुवाईमा आयोजना गरिएको विभिन्न तालिम तथा सिपमूलक कार्यक्रममा सदस्यहरुलाइै पालैपाले सहभागिताको मौका प्रदान गरेको थियो । आठौं वार्षिक साधारण सभाकी प्रमुख अतिथि लपुमनपा २४ नं. वडाका वडा सदस्य इन्द्रा श्रीशले मखुण्डोल महिला समूह आफ्नै सक्रियतामा खुलेको जनाउँदै समूहलाई अगाडि बढाउन आफ्नोतर्फबाट सबै प्रकारका सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनु भयो । साधारण सभामा वडा सदस्य उद्धव बस्नेतले मखुण्डोल महिला समूहले उदाहरणीय कार्य गरेको जनाउँदै अन्य समूहहरूले यसबाट सिक्न सुझाव दिनुभयो । वार्षिक साधारण सभामा वडा सदस्य हरिकृष्ण महर्जनको पनि उपस्थिति रहेको थियो । वार्षिक साधारण सभामा समूहका गतिविधिमाथि चर्चा परिचर्चासहित महिला दिदी बहिनीले नाचगान गरी मनोरञ्जन लिएका थिए ।