सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अहिले बारा जिल्लाको बरियारपुरस्थित गढीमाई मन्दिरमा पंचवर्षीय मेला लागेको छ । गढीमाई मन्दिरमा प्रत्यके पाँच–पाँच वर्षमा एक महिने कुम्भ मेला लाग्ने गर्दछ । गढीमाई मेलामा अहिलेसम्म लाखौँ मानिसले दर्शन गरिसकेका छन् । यो क्रम यो महिनासम्मै जारी रहनेछ । गढीमाई मेलामा नेपालको अधिकांश जिल्लासहित भारतबाट लाखौं मानिस आउने गर्दछन् । गढीमाई मेलामा आज २३ गते अर्थात सप्तमी तिथीमा राँगा बलि दिइने र भोलि २४ गते अर्थात अष्टमी तिथिमा बोकासहित अन्य बलि दिइने मूल पुजारीले जानकारी दिएका छन् । रोग निको हुन, सन्तान प्राप्तिसहित मनोकांक्षा पूराका लागि गढीमाई माताको नाममा गरिएका भाकल पूरा भएपछि पञ्चवर्षीय मेलामा मानिसहरूले परेवा, बोका, राँगालगायतको बली चढाउने गर्दछन् । आफ्नो शरीरका ५ स्थानबाट रगत निकालेर देवीलाई चढाउने परम्परा अहिले पशुबलीमा रुपान्तरण भएको बताइन्छ । अव्यवस्थित रुपमा बलि दिइँदा यहाँको वातावरण प्रदूषण बनेको विषय उठाउँदै अभिवक्ता अर्जुन अर्यालसहितले पशुबलि रोक्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट हालेका थिए । उनीहरूको रिटमा न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ साउन २० गते अन्तिम फैसला सुनाउँदै चार विषयमा परमादेश र पाँच विषयमा निर्देशनात्मक आदेश गरेको थियो । फैसलामा ‘मानिसको आस्था, सांस्कृतिक मान्यतालगायत विविध पक्षलाई सम्बोधन गरी निश्चित समय सीमाभित्र पशुबलि प्रथा समाप्त गर्न र रणनीतिक योजना तथा कार्यक्रम चरणवद्ध कार्यान्वयनमा ल्याउनु’ लगायत निर्देशनात्मक आदेश भएको थियो । फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता सरोजराज रेग्मी परमादेश र निर्देनात्मक आदेश एकैपटक वा एकै दिन कार्यान्वयन हुने प्रकृतिका नभएकाले चरणवद्ध रुपमा कार्यान्वयन भइरहेको बताउनु हुन्छ । ‘फैसला भएको पहिलो वर्षदेखि हालसम्म यसमा निर्देशनालयले काम गरिरहेको छ । चरणवद्ध र क्रमिक रुपमा फैसालको कार्यान्वयन भइरहेको छ’ शब्दपाटीसँगको कुराकानीमा उहाँले भन्नुभयो ।