सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा धापाखेलस्थित मुल सडकको महादेव खोलामा पक्की पुल निर्माण कार्य धमाधम भइरहेको छ । पुल निर्माण अवधिका लागि सर्वपक्षिय सहमतिमा व्यवस्था गरिएको सहयाक मार्गको प्रयोग सहज ढंगले गरिदिन धापाखेलका दुवै वडा कार्यालयहरु (वडा नं. २३ र २४ नं. वडा) ले अनुरोध गरेका छन् । धापाखेलको मूल सडक बुद्धविहार अगाडि महादेव खोलामा रहेको जीर्ण पुल भत्काई नयाँ पुल निर्माण कार्य सुरु गरिएको छ । पुल निर्माण सम्पन्न नहुँदासम्म मूल बाटो भएर चल्ने सवारी साधानहरुलाई सहायक बाटो सहज ढंगले प्रयोग गर्न दुबै वडा कार्यालयले अनुरोध गरेका छन् । ठूला गाडीहरु (मालवाहक गाडीहरु, स्कुल बसहरु, सार्वजनिक ठूला बसहरु, लोकल बसहरु) का लागि धापाखेलबाट आवत जावत गर्न श्री कृष्ण प्रणामी मन्दिरबाट ठेचो, सुनाकोठी हुँदै सातदोबाटो, लगनखेलको रुट तय गरिएको छ । हलुका दुई पाडग्रे, चार पाड्ग्रे गाडी, निजी गाडीहरु तथा विद्यालयका भ्यानहरुलाई धापाखेलबाट जाँदा धापाहाइट भई सातदोबाटो र आउँदा इसिमोडबाट जेम्स स्कुल पछाडिबाट सिभिल होम पश्चिम गेट भई धापाखेल आउने व्यवस्था मिलाइएको छ । सिभिल होमको बाटो फर्कंदाका सवारी साधानहरुको लागि बिहान ६ बजेदेखि बेलुका ८ बजे सम्मको लागि मात्र उक्त बाटो प्रयोग हुने छ । पक्की पुल निर्माणका लागि ठेक्का पाएको ठेकेदार कम्पनीले पुलका लागि बेस राख्न जीर्ण पुल भत्काएको छ । पुल निर्माणका लागि श्री गणेश–पृथ्वी जेभी कोटेश्वरले ठेक्का पारेको छ । बक्स कल्भर्ट प्रकृतिको उक्त पुलको लम्बाई ८ मिटर हुनेछ । चौडाई ११ मिटरको हुने प्राविधिक प्रतिवेदन रहेपनि ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले पुलको चौढाइका लागि छुट्टै बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता गर्नु भएको छ । ठेक्का अवधि दुई वर्षको रहेपनि ठेकेदार कम्पनीले ६ महिना भित्र पुल निर्माण सक्ने गरी काम थालेको ललितपुर महानगर २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले जानकारी दिनुभयो । पुल निर्माण सुरु भएपछि मुल सडक बन्द हुने हुँदा यो बाटो भएर आउजाउ गर्ने सर्वसाधारणलाई ४ देखि ६ महिनासम्म धैर्य गरिदिन वडाअध्यक्ष महर्जनले आह्वान गर्नु भएको छ । यसैगरी ललितपुर महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष दिनेश जंग पाण्डेले महादेव खोलमा पुल निर्माण कार्य सुरु भइसकेकोले सर्वपक्षिय सहमतिमा तय गरिएका सहायक मार्गहरूको सहज उपयोगका लागि अनुरोध गर्नु भएको छ । सहायक मार्ग सहज सञ्चालनका सम्बन्धमा बिहीबार वडा नं. २४ का जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गरी सवारी आवगमनका विषयमा नेपाल प्रहरी, नगर प्रहरी तथा सिभिल होस सोसाइटीका सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिनु भएको छ । २४ नं वडा कार्यालयका जनप्रतिनिधि निशा मालबुल, इन्द्रा श्रीश, उद्धब बस्नेत तथा हरिकृष्ण महर्जनले स्थलगत अनुगमन गर्नु भएको हो । लपुमनपा २३ नं. वडाका जनप्रतिनिधिहरूले पनि सहायक मार्गको सहज उपयोगका सम्बन्ध नियमित रुपमा अनुगमन गरिरहनु भएको छ ।
सहायक मार्गको उपयोगको यस्तो छ व्यवस्था