काठमाडौं आएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले सुरु गरे कूटनीतिक भेटघाट

आइतबार, मंसिर २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कूटनीतिक भेटघाटलाई तिव्रता दिएका छन् । भारत र श्रीलंका हुँदै अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन् । आइतबार नै सहायक विदेशमन्त्री लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् । लूले पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा दुई मुलुक बीचका बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । लुले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा देउवासँग कुरा गरेको स्वकीय भानु देउवाले बताए । उनले भने,‘उहाँहरूबीचमा नेपाल–अमेरिकाको समग्र पक्षको विषयमा कुराकानी भएको थियो । उहाँहरुले अन्तर्राष्ट्रिय परिवेशलगायत विषयमा पनि छलफल गर्नुभयो,’ स्वकीय देउवाले भने ।

अध्यक्ष प्रचण्डपनि भेट 
देउवासँगको भेटपछि लुले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेका छन् । सहायक विदेशमन्त्री लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग उनको निवासी खुमलटारमा भेटवार्ता गरेका हुन् ।   अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।  नेपालको आर्थिक विकासका लागि अमेरिकाले गरिरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनले सबैको सहयोग र सद्भावबाट अघि बढ्ने बताए । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्वपूर्ण हुने बताए । 

Photos-(2)-1733658035.jpg
‘हामीले कृषिलाई आधार मानेर उर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं’,उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्वपूर्ण हुन्छ ।’
नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रुपमा सम्पन्न हुन थालेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भावका लागि धन्यवाद दिए । ‘हामीले नेपालमा शान्ति प्रक्रिया बहुमत र अल्पमत वा सत्ता पक्ष र बिपक्षीको रुपमा नलिएर राष्ट्रिय सहमतिका साथ टुंग्याउँदै छौं, यो हाम्रा लागि मात्र होइन शान्ति र स्थायित्व चाहने अन्तर्राष्ट्रिय समुदायकै लागि पनि खुशीको कुरा हो’,उनले भने, ‘टिआरसी विधेयक पारित भएपछि जसरी अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ, यसले हामीलाई खुशी बनाएको छ ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको तनावप्रति नेपालको गहिरो चासो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट नेपालमा पर्नसक्ने असरप्रति आफूहरु संवेदनशील रहेको बताए । 


अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरुका लागि खुशीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताए । उनले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुशी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए । उनले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अमेरिका सरकारले मात्रै नभई अमेरिकी जनताले पनि नेपालको विकासका लागि सहयोग गर्दै आएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली भने दुई दिन पूर्वी क्षेत्रको भ्रमणमा रहेका कारण लुले भेटवार्ता गर्ने छैनन् । सहायक विदेशमन्त्री लूले नेपाली नेताहरूका साथै नागरिक समाजसाग समेत अन्तरक्रिया गर्नेछन् । उनको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका श्रेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने अमेरिकी दूतावासले विश्वास लिएको छ । भ्रमणका क्रममा उनले युवाहरूसँग पनि साक्षात्कार गर्नेछन् । यस अघि पटक–पटक नेपाल आएका लु बाइडेन प्रशासनको अन्त्यतिर दक्षिण एसिया भ्रमणमा आएका हुन् ।  काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार काठमाडौं रहँदा सहायक विदेशमन्त्री लूले नेपाली नेताहरूका साथै नागरिक समाजसँग समेत अन्तरक्रिया गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार