सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलले मूल सडक विस्तार–स्तरोन्नतिका लागि सीमाङकन गरेको क्षेत्रमा धमाधम पर्खाल लगाइरहेको छ । मंसिर महिनाको पहिलो साता वडा कार्यालयले मूल सडकको दायाँ बायाँ सीमाङकन गरी चिह्न लगाएको थियो । सीमाङकन गरिएका क्षेत्रमा वडावासीले स्वतस्फुर्त रुपमा पर्खाल भत्काउँदै आफैंले वडाका प्राविधिकले चिह्न लगाइदिएको स्थानअनुसार पर्खाल लगाइरहेको वडाअध्यक्ष दिनेश जंग पाण्डेले जानकारी दिनुभयो । धापाखेलको मूल सडक सुधार तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १ करोड तथा संघीय सरकारकै सहरी विकास मन्त्रालयबाट थप १ करोड ५३ लाख बजेट प्राप्त भएको छ । वडाअध्यक्ष दिनेशजंग पाण्डेले सीमाङकन भइरहेका बेला थप बजेट सुनिश्चित भएको शब्दपाटीलाई जानकारी दिनुभयो । ‘सीमाङकनपछि पर्खाल लगाउने कार्य भइरहेका बेला केन्द्रीय तथा प्रदेश तहका महत्वपूर्ण व्यक्तित्वहरूसँग बजेटका लागि अनुरोध गर्दा थप ४०–५० लाख बजेटको सुनिश्चितता भएको छ यसले वडाको विकास निर्माण कार्यमा थप टेवा पुग्नेछ’ उहाँले भन्नुभयो । मूल सडक सीमाङकन गर्दा मूल सडकको लम्बाई १४ मिटर कायम गरी चिह्न लगाइएको छ । नापजाँच गर्दा पुरानो पीचलाई आधार मानिएको छ । पुरानो पिचको मध्य भागलाई आधार मानेर त्यसको दायाँबायाँ बराबर भूभाग लिइएको छ। मूल सडक विस्तार–स्तरोन्नति गर्दा १० मिटर कालोपत्रे गरिने छ । बाँकी रहेको ४ मिटरको क्षेत्रफलमा नाला तथा फुटपाथ रहने छ । धापाखेल वडा नं। २४ मा मूल सडकको लम्बाई करिब अढाई किलोमिटर रहेको छ । नगर स्तरीय बजेटका सडक कालोपत्रे र पुल निर्माण सुरु धापाखेल २४ नं वडामा नगर स्तरीय बजेटबाट सुरु गरिएका पुल निर्माण तथा कालोपत्रे गर्ने कार्य पनि धमाधम सुरु भइरहेको छ । नगरस्तरीय बजेटमा वडा नं २४ धापाखेल र वडा नं. २७ सुनाकोठी वखाटलाई जोड्ने महादेव खोलामा पक्की पुल निर्माण सुरु भएको छ । पुल निर्माणपछि २४ नं. वडा कार्यालय रहेको तीनकुने पोखरी दानघाट टोलबाट सुनाकोठी निस्कन सहज हुनेछ । पुल निर्माण गर्न विश्व ज्योति विल्डर्सले ठेक्का पाएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो पुलको लम्बाई ५.५० मिटर रहने छ भने चौडाई एकतर्फी फुटपाथसहित ८ मिटरको रहने छ । पिल्लर बिनाको सिंगल सेल बक्स कल्भर्ट निर्माण हुनेछ । यस्तै ठेकेदार कम्पनीले सेता भैरब टोलमा कालेपत्रे गरिसकेकाे छ भने नागदह झरुवाराशी सडक मार्गमा पनि कालेपत्रेका लागि काम सुरु गरेको छ । नागदह सडक कालोपत्रेका लागि ठेकेदार कम्पनीले प्राइक कोड राखिसकेको छ भने केही दिनभित्र आसफल्ट गर्ने तयारी छ ।