सोसल मिडिया
Contact Us
युनिकोड
इलाम । सूर्योदय नगरपालिका–७ गोगनेका अठासी बर्षीय टेकबहादुर राई जवानीदेखि नै रेडियो सुन्न रुचाउँथे । उमेर उत्तराद्र्धमा पुग्न लाग्दा उनको रेडियो बिग्रियो । हालै वडा कार्यालयले उनको हातमा बुढेसकालको साथी रेडियो, टर्चलाईट, पोसिलो खानेकुरा थमाएपछि निक्कै खुशी बने । सूर्योदय नगरपालिका ७ का वडा अध्यक्ष लोकबहादुर राईको नेतृत्वमा वडासदस्य गजबहादुर घले, श्याम कटुवाल, ख्याम कुमारी घले, शर्मिला विश्वकर्मासँगै स्वास्थ्यकर्मीसहितको टोली लिएर राई जस्तै २४ जना असी बर्षमाथिका नागरिक र आठजना अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर सम्मान गरेको हो । गत बर्ष ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई न्यानो व्ल्याङकेट वितरण गरेको वडाले यस पटक रेडियो, टर्चलाइट, हर्लिक्सलगायतका सामग्री वितरण गरेको वडाध्यक्ष लोकबहादुर राईले जानकारी दिए । लक्षित समूदाय अन्तर्गतको कार्यक्रमबाट सम्मानित भएका ८३ वर्षिय जितबहादुर राईले घरमै पुगेर जनप्रतिनिधिले सम्मान अर्पण गरेपछि भने ‘पहिले कसैले यस्तो सम्मान गरेको थिएन, साह्रै खुशी लाग्यो ।’ पञ्चायत काल तिरको कुरा सम्झदै उनले भने ‘त्यति बेलाको सरकार बोल्नेको मुख थुन्थ्यो, लेख्नेको औला काटिदिन्थ्यो, अहिले खोज्दै सम्मान गर्न आउन थाल्यो सरकार ।’ ९३ वर्षिय कुविरधन राई वडाकै जेष्ठ नागरिक हुन् । उनले निरंकुशदेखि अहिलेको जस्तो खुकुलो सरकार पनि अनुभव गर्ने अवसर पाए । नौ दशक पार गर्दा पनि उनको ज्यानमा कुनै दीर्घ रोगको लक्षण छैन । उनले सुनाए ‘अहिलेसम्म नियमित औषधि खाने रोग लागेको छैन ।’
विषादीरहित खाना, ग्रामीण रहनसहनमा हुर्किएका उनले जनप्रतिनिधि घरमै आएको समयमा जनताको सेवामा सधै लागिरहन सुझाव दिए । उनले भने, ‘सरकारले सम्मान गर्दा खुशी लाग्यो, घरमै आएर प्रेसर, सुगरको परिक्षण गरिदिएपछि अब ढुक्क भयो ।’ सिनियर अहेव निता राईले सम्मानको क्रममा जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकको व्लड प्रेसर र सुगरको परिक्षण गर्नुका साथै आवश्यक स्वास्थ परामर्श प्रदान गरेको जानकारी दिइन् । सहायक कम्प्युटर अपरेटर क्षितिज गड्तौलाले वडाको तथ्याङ्कमा देखिएका सबै जेष्ठ नागरिकलाई प्रत्येक बर्ष उनीहरुको चाहना अनुसारको सामग्री वितरण गर्दै आएको जानकारी दिए । नागरिकलाई सरकारको अनुभुति गराउन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने लक्ष्मी नेपालले बताइन् । वडाअध्यक्ष लोकबहादुर राईले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति सूचनाको हकबाट बञ्चित नहुन भनेर रेडियो, उज्यालोबाट विमुख हुन नपरोस भनेर टर्चलाइट र पौष्टिक आहारको आवश्यकतालाई सांकेतिक रुपमा संकेत गर्न हर्लिक्स वितरण गरेको बताए । उनले भने, ‘वडा कार्यालय घरघरमा पुग्दा ज्येष्ठ नागरिकको मुहारमा देखिएको खुशीले प्रफुल्लित भएको छु ।’