सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मंगलबार पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घण्टा बयान लिइएको छ । सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन् । बयानको क्रममा लामिछानेसँग ५४ वटा प्रश्न सोधिएको निरौलाले जनाए । सरकारी वकिल कार्यालय स्रोतका अनुसार कुनै(कुनै कुराको लामिछानेले ‘कन्फेस’ गरेका छन् । ‘पर्सामा रवि लामिछानेको बयान सकिएको छ,’ मुख्य न्यायाधिवक्ता निरौलाले भने, ‘बयानमा करिब ५४ वटा प्रश्न सोधिएका थिए ।’ बयान सकिएपछि पूर्वगृहमन्त्री रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ देखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि सोमबार साँझ वीरगन्ज ल्याइएको थियो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार पर्सी बुधबार म्याद सकिने हुनाले त्यो भन्दा अगाडि नै लामिछानेलाई पोखरा पठाइने छ । सानो पाइला सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि सोमबार बिहान वीरगन्ज ल्याइएका गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई भने सोमबार नै बयान सकाएर मंगलबार बिहान स्थलमार्गबाट पोखरा फिर्ता पठाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लम्सालले जनाए । लामिछाने, जोशी र खनाललाई पक्राउ गर्न पर्सा अदालतले गत बुधबार अनुमति दिएको थियो । लामिछाने गोर्खा मिडियाएको प्रबन्ध निर्देशक रहेका बेला सानो पाइला सहकारीबाट करिब साढे ८ करोड रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ । सानोपाइला सहकारीबाट जोशीको नाममा एक करोड ८६ लाख ९४ हजार रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ । लामिछाने गोर्खा मिडियामा आबद्ध रहेकै बेला सानो पाइला सहकारीबाट ८ करोड ५८ लाख रुपैयाँ सारिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक सानो पाइला सहकारीबाट ९३ करोड ६२ लाख ९७ हजार रुपैयाँ गैरकानुनी रुपले कार्यक्षेत्रबाहिर ऋण प्रवाह गरिएको छ । २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्म सानो पाइला सहकारीबाट गोर्खा मिडियामा रकम सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडिया प्रालिमा प्रबन्धक निर्देशकको भूमिकामा थिए । ०७८ साउन १९ मा एकैदिन चार करोड ९१ लाख ९४ हजार रुपैयाँ सारिएको प्रतिवेदनमा उल्लेख छ । गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशीको घरबाट बरामद भएको हार्ड डिस्कमा सानो पाइला सहकारीबाट पनि रकम सिधै गोर्खा मिडियामा सारिएको फेला परेको हो । प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्रबाबु (जीबी) राईलगायत ११ जना हालसम्म फरार छन् । सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा जिल्ला अदालत पर्साबाट न्यायीक परीक्षण हुँदा ठहरेबमोजिम हुने गरी हाललाई एक करोड १० लाख धरौटीमा रिहा भइन् । यसैगरी सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।