जनकपुर अन्तिम खेल अघि नै प्लेअफमा

बिहीबार, मंसिर २७, २०८१
Global Ime Bank

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ । बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।  जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९।३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरे । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे । माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए । लेभिट मोहम्मद मोहसिनबाट समातिए । सातौं ओभरमा ललितनारायण राजवंशीले दुई विकेट निकाले पछि जनकपुर खेलमा पूर्णतः हाबी भएको थियो । ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए । शेर मल्लले २०औं ओभरमा २ विकेट लिदै काठमाडौंलाई अल आउट गरे । जनकपुरका लागि ललित र शेरलर समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो । जनकपुरले आफ्नो अन्तिम खेल आइतवार चितवन राइनोजसँग खेल्नेछ। काठमाडौंले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार