सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल(ललितपुर) । ललितपुर महानगरपालिका १४ नं वडा कार्यालय तिखिदेवले आर्थिक वर्ष २०८१-०८२ को बडा स्तरीय बजेटमा समावेश भएका पूर्वाधार तथा सामाजिक क्षेत्रका कार्यक्रमहरू क्रमैसँग कार्यान्वयनमा लैजान थालेको छ । पूर्वाधरतर्फ सम्पदा स्थलको पुनर्निमाण, सडक बाटो ढलका कार्यक्रम सुरु भएका छन भने सामाजिक क्षेत्र (लक्षित वर्ग) कार्यक्रमहरू पनि वडा कार्यालयले कार्यान्वयन सुरु गरेको हो । यसै सन्दर्भमा महानगरपालिका १४ नं. वडा कार्यालयले आ.व. २०८१-०८२ को वडा बजेटमा समेटिएको ऊनी कपडा सिलाई बुनाई तालिम (एडभान्स) कार्यक्रम सम्पन्न गरेको हो । वडास्तरीय महिला सञ्जालको आयोजनामा महिला लक्षित १० दिने ऊनी कपडा सिलाइ बुनाइ (एडभान्स) तालिम सम्पन्न भएको हो । तालिम कार्यक्रममा १७ जना महिला सहभागी भएका थिए । सहभागी महिलाले तालिम अवधिमा तयार पारेका ऊनी कपडाको सामान कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष अमृत जंग महत तथा वडासचिव सुलोचना लुइँटेललाई मायाको चिनो स्वरुप उपहार दिए । सहभागी महिलाले तयार पारेका सामग्री अन्य सहभागीलाई एक हजार रुपैयाँमा खरिद गर्न सकिने व्यवस्था पनि गरिएको थियो ।
सामुदायिक भवन तिखिदेवलमा आयोजित समापन समारोहमा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरी दिक्षित गरिएको छ । समापन समारोहका प्रमुख अतिथि वडाअध्यक्ष अमृत जंग महतले तालिममा सहभागी महिलालाई प्रमाणपत्र वितरण गर्नुभयो । वडास्तरीय महिला सञ्जालकी संयोजक तथा महिला वडा सदस्य सहनशीला कार्कीको अध्यक्षतामा आयोजित समापन समारोहमा वडाअध्यक्ष महतले वडा कार्यालयले महिला सशक्तिकरणका लागि महत्व दिएको बताउँदै उद्यमी महिला उत्पादनलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले तालिममा सहभागी महिलालाई बजारको माग अनुसारका सामान उत्पादन गरी बिक्री वितरणमा जोड दिनुपर्ने सुझाव दिँदै वडा कार्यालयले आफ्नै वडा प्राङ्गणमा भए पनि हप्तामा वा पन्ध्र दिनमा रात्रीकालिन बजान सुरु गर्ने तयारी गरेको जानकार दिनुभयो । ‘नाइट मार्केट सुरु गर्ने विषयमा अब हामी छिट्टै बैठक बसेर निर्णय लिनेछौं’, उहाँले भन्नुभयो, ‘यसका लागि महिलाहरूले उत्पादनलाई फोकस गर्नुपर्यो ।’
उहाँले महिलालाई आफूले सिकेको सिपलाई पैसामा रुपान्तरण गर्न पनि आह्वान गर्नुभयो । कार्यक्रममा महिलालाई सिपको सदुपयोग गर्न आह्वान गरिएको कविता वाचन गरी कार्यक्रमकी सभापति वडास्तरीय महिला सञ्जालकी संयोजक वडा सदस्य सहनशीला कार्कीले आफ्ना भनाई राख्नु भएको थियो । उहाँले ‘सिप सिकैं उद्यमी बनौ’ भन्ने ध्येयबाट काम गर्न आह्वान गर्दै ऊनी कपडा बुनाई तालिमको भरपुर सदुपयोग गरी आय आर्जनमा जोड्न आह्वान गर्नुभयो । कार्यक्रममा वडासचिव सुलोचना लुँइटेलले जीवन रहेसम्म सिक्ने क्रम जारी रहने भन्दै महिलालाई घर–किचनमा मात्रै सिमित नभई आयआर्जनमा जोडिन सके जीवन सहज हुने बताउनुभयो । तालिम प्रशिक्षक लक्ष्मी थापाले सिप सिकेर कहिल्यै नसकिने जनाउँदै सिकेको तालिमलाई निखरता ल्याउन अपडेट भइरहनुपर्नेमा जोड दिनुभयो । महिला सञ्जालकी सचिव विमला शर्माले सञ्चालन गरेको कार्यक्रममा सहायक वडासचिव सूर्यप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो । १० दिने एडभान्स तालिम कार्यक्रमका बारेमा शब्दपाटीलाई वडास्तरीय महिला सञ्जालकी संयोजक वडा सदस्य सहनशीला कार्कीले फलदायी भएको बताउनुभयो । तालिम प्रशिक्षक लक्ष्मी थापाले तालिम पनि प्रशिक्षार्थीमा आत्मवल बढेको बताउँदै बजारको माग अनुसारको सामान उत्पादन गर्न सक्ने क्षमता आफूले पाएको बताउनुभयो ।