सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । रुसको परमाणु सुरक्षा बल प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्या भएको छ । राजधानी मस्कोमा इलेक्ट्रिक स्कुटरमा लुकाएर राखिएको बम विष्फोटबाट उनको हत्या भएको हो ।राष्ट्रपति भ्लादिमिर पुटिनको निकट साथी मानिने किरिलोभको हत्यापछि रुसमा हलचल मच्चिएको छ । आज मंगलबार भएको यो घटनाको अनुसन्धान गर्न रुसका अधिकारीहरु सक्रिय छन् । यो हत्यामा कसको हात छ भन्ने स्पष्ट भइसकेको छैन । तर यसमा युक्रेनको सेनाको हात हुन सक्ने आशंका छ । युक्रेनी मिडियाहरुले पनि किरिलोभको हत्यामा किभको सुरक्षा सेवाको हात रहेको दाबी गरेको छ । किभ इन्डिपिन्डेन्ट र समाचार एजेन्सी आरबीसी युक्रेनले स्रोतलाई उद्धृत गर्दै युक्रेनको सुरक्षा सेवा (एसबीयू)ले किरिलोभको हत्या गरेको जनाएका छन् । सन् २०२२ देखि लेफ्टिनेन्ट जनरल किरिलोभले युक्रेनले परमाणु जस्ता घृणित बम विकास गरिरहेको आरोप लगाउँदै आएका थिए । उनले विना प्रमाण युक्रेनविरुद्ध अभिव्यक्ति दिएको भन्दै युक्रेनी अधिकारी उनीप्रति रुष्ट थिए । बेलायतले गत अक्टुबरमा किरिलोभलाई प्रतिबन्ध घोषणा गरेको थियो । बेलायतले उनलाई ‘रुसी दुष्प्रचारको महत्वपूर्ण मुखपत्र’को संज्ञा दिएको थियो ।