सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ र २४ नं. वडावासीले असोजको बाढीयता खानेपानीको चरम अभाव खेप्दै आएका छन् । गत असोज दोस्रो साता आएको बाढी–पहिरोका कारण यहाँ आउने पानीका मुहानलाई ध्वस्त पारेपछि धापाखेलका दुई वटा वडा २३ र २४ का वडावासी खानेपानी समस्याबाट पिरोलिएका छन् । धापाखोलको खानेपानी समस्यामा दीर्घकालिन समाधान खोज्न प्रदेश सांसद रघुनाथ महर्जन नेतृत्वमा ललितपुर महानगरपालिका वडा नं. २३ वडाअध्यक्ष जीवन महर्जन तथा र २४ का वडाअध्यक्ष दिनेश जंग पाण्डे आफ्ना जनप्रतिनिधि तथा टोलवासीलिएर बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाका प्रमुख इन्जिनियर इला भट्टसँग छलफल गर्नु भएको छ । छलफलमा बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले धापाखेल तथा ठेचोसम्ममा खानेपानीको अभाव भएको बताउँदै यो समस्याको दीर्घकालिन समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले बजेट बनाउनु अघि नै वडा, पालिका, प्रदेश सरकार तथा संघीय सरकारलाई हाम्रा योजना यी हुन् यी योजनाका लागि तत तत निकायले कति बजेट उपलब्ध गराउनु पर्ने हो खाकासहित सर्वपक्षीय छलफलको आयोजना गर्न केयुकेएलका प्रतिनिधिलाई सुझाव दिनुभयो । छलफलमा ललितपुर महानगरपालिका २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले पानीको वितरण समानुपातिक ढंगबाट नभएको गुनासो गर्दै ललितपुरको खानेपानी समस्यामा मेलम्चीको मुख ताक्नु नपर्ने बताउनुभयो । ललितपुरमा यति धेरै पानीको श्रोत छन्, तर हामी मेलम्चीको कुरा गरिरहेका छौं, वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘ललितपुरको पानीको स्रोत व्यवस्थापन गर्ने हो भने काठमाडौं उपत्याकालाई नै खानेपानी पर्याप्त मात्रामा पुग्छ ।’ ललितपुर महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डेले धेरै पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेकोतर्फ असन्तुष्ठि व्यक्त गर्नुभयो । बस्ती बढिरहेको छ, त्यस अनुसारको खानेपानीको व्यवस्थान हुन सकेको छैन, आएका पानीमा पनि ठूलो चुहावट भइरहेको छ त्यतातर्फ ध्यान गएको छैन छलफलमा उहाँले भन्नुभयो । प्रदेश सांसद महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा २३ नं. वडाका वडासदस्य किरण खड्का, २४ नं वडाका वडा सदस्य उद्धब बस्नेत, हरिकृष्ण महर्जन, वडा सल्लाहकार, पुरुषोत्तम पौडेल तथा ठूलो संख्यामा वडावासीहरूको सहभागिता रहेको थियो । प्रतिनिधिमण्डलले धापाखेलमा खानेपानीको समस्या विकराल बनेको जानकारी दिँदै छिटो समस्याको समाधान निकाल्न कार्यालय प्रमुखसँग आग्रह गरेको थियो । छलफलमा वडाअध्यक्ष दिनेश जंग पाण्डेले मेलम्चीको पानी महानगरका अन्य वडाले उपयोग गरिरहे पनि आफ्नो वडामा मेलम्चीको पानी वितरण नहुँदा समस्या भइरहेको अवगत गराउनु भएको थियो । उहाँले मेलम्चीको पानी धापाखेलसम्म वितरणका लागि वैकल्पिक उपायका बारेमा सोच्न पनि आग्रह गर्नुभयो । खानेपानी कार्यालयका प्रमुम भट्टले बासुकी मुलको पानी खानेपानी प्रणालीमा समावेश भएको जनाउँदै अव केही सहज हुने जानकारी दिनुभयो । कार्यालय प्रमुख भट्टले भन्नुभयो, मेलाम्चीबो पानी सुनाकोठी बाङ्गेधारासम्म आएकोले त्यसबाट धापाखोलसम्म ल्याउने विषयमा वैकल्पिक उपाय खोज्न केयुकेएलको टोलीले स्थलगत निरीक्षण गरिसकेको जनाउँदै तत्काल त्यो कार्य अघि बढाउन सम्भव नरहेको जनाउनुभयो । कार्यालय प्रमुख भट्टको यो भनाई पछि प्रदेश सांसद महर्जन तथा दुवै वडाअध्यक्ष, वडासदस्यहरुले स्थलगत निरीक्षणमा आफूहरूलाई सहभागी नगराएकोमा असन्तुष्ठि व्यक्त गर्नुभयो । उहाँहरूले वडाका जनप्रतिनिधि तथा प्राविधिकसहित केयुकेएलका प्राविधिक, प्रतिनिधिसहित स्थलगत अनुगमन गर्न माग गर्नुभयो । कार्यालय प्रमुख भट्टले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि तीनवटा मूलका बारेमा अध्ययन भएपनि खसिमारको खानेपानी योजना सुरु गर्ने विषयमा प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।