सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलले सुरु गरेको मूल बाटो विस्तारका क्रममा १४ मिटर बाटोको सीमाङ्कन भित्र परेका साविक धापाखेल ३ नं. का धार्मिक स्थल तथा संरचना हटाउन स्थानीयले सहमति दिएका छन् । मूल बाटो विस्तार गर्दा बाटोको सीमाङकन भित्र परेका साविक धापाखेल ३ नं. वडाका धार्मिक स्थल तथा संरचनाका विषयमा आवश्यक निर्णय लिन हिजो बुधबार वडाअध्यक्ष दिनेश जङग पाण्डेसहितका जनप्रतिनिधि तथा टोलबासीबीच छलफल भएको थियो । छलफलमा वडाअध्यक्ष पाण्डेसहित वडा सदस्य इन्द्रा श्रीश, उद्धब बस्नेत, हरिकृष्ण महर्जन तथा साविक धापाखेल ३ नं. वडाका करिब ५० जना टोलवासी उपस्थित भएका थिए ।
साविक धापाखेल ३. नं को चौतारोमा वडाअध्यक्षसहित जनप्रतिनिधि एवम् टोलबासीसँग भएको छलफलले बाटोको सीमाङ्कन भित्र परेका गणेश मन्दिर, जलपादेवी मन्दिर, पानी ट्याङ्की, इनार, क्लब भवन तथा ट्रस हटाउन सहमति गरेको हो । सर्वपक्षीय भेलाले गणेश मन्दिर उत्तरतर्फको पानी टयाङ्की भत्काइ उपयुक्त समयमा के कस्तो बनाउने स्थानीयसँग छलफल गरी बनाउने निर्णय गरेको छ । गणेश मन्दिरसँगैको ट्रस बाटो विस्तार गर्दा सीमाङ्कन भित्र परेकाले भत्काउने तथा सँगैको पिपलको रुख आवश्यकता अनुसार काँटछाँट गर्ने पनि छलफलले निर्णय गरेको छ । गणेश मन्दिर भत्काएर त्यहाँका मूर्तिहरू तत्काल पाटीमा राख्ने, मूर्तिहरू सार्ने क्रममा क्षमा पूजा गरी कलात्मक तरिकाबाट मन्दिर निर्माण गरी व्यवस्थापन गर्ने विषयमा पनि सहमति भएको छ । मन्दिर निर्माण गर्दा टोलबासीले रकम उठाउने तथा रकम आवश्यक भए वडा कार्यालयसँग सहकार्य गर्ने, बानियाँहरूको कुलायन मन्दिर (जलपादेवी मन्दिर)को हकमा उपयुक्त स्थलको खोजी गरी निर्माण गर्ने, चौतारोको इनारको समाधानमा हाल भइरहेको इनारलाई पुरेर सोही ठाउँमा कसैलाई असर नपर्ने गरी इनार बनाउने र इनारसँगै ४००० लिटरको कालो ट्याङकी स्ट्याण्डसहित राख्ने, धापाखेल चौतारा युथ क्लबलाई यहाँका स्थानीयहरूले उपयुक्त ठाउँमा बनाउने र त्यसका लागि वडा कार्यालयले सहजीकरण गर्ने भेलाले सर्वसम्मत निर्णय गरेको छ । भेलामा वडाअध्यक्ष दिनेश जङग पाण्डेले साविक धापाखेल ३. नं का धार्मिक स्थल तथा संरचनाहरूका विषयमा टोलबासीको सहमति के गर्ने भन्ने निर्णय लिन भेला आयोजना गरिएको बताउनुभयो । उहाँले मुल बाटो विस्तारका क्रममा वडावासीको अभूतपूर्व साथ सहयोग प्राप्त भएको बताउँदै यी धार्मिक स्थल तथा संरचनाका विषयमा पनि उपयुक्त निर्णय आउने आशा वडा कार्यालयले लिएको बताउनुभयो । टोलवासीहरूले बाटो विस्तारका क्रममा आफूहरूले वडा कार्यालयलाई सहयोग गरेको जनाउँदै धार्मिक स्थल तथा संरचनाहरू पनि उपयुक्त स्थलमा सार्ने विषयमा असहमति नहुने बताएका थिए ।