सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलले सुरु गरेको मूल बाटो विस्तारका क्रममा १४ मिटर बाटोको सीमाङ्कन भित्र परेका साविक धापाखेल ३ नं. का धार्मिक स्थल तथा संरचना हटाउन स्थानीयले सुरु गरेका छन् । मूल बाटो विस्तार गर्दा बाटोको सीमाङकन भित्र परेका साविक धापाखेल ३ नं. वडाका धार्मिक स्थल तथा संरचना व्यवस्थापनका विषयमा आवश्यक निर्णय लिन गत बुधबार वडाअध्यक्ष दिनेश जङग पाण्डेसहितका जनप्रतिनिधि तथा टोलबासीबीच छलफल भएको थियो । छलफलले बाटोको सीमाङ्कन भित्र परेका गणेश मन्दिर, जलपादेवी मन्दिर, पानी ट्याङ्की, इनार, क्लब भवन तथा ट्रस हटाउन सहमति गरेको थियो ।
सर्वपक्षीय भेलाको सहमति अनुसार मूल बाटो भित्र पर्ने गणेश मन्दिर सार्न हिजो शुक्रबार क्षमा पूजा गरिएको छ । क्षमा पूजा गरी गणेशको मूर्ति मन्दिर नजिकैकै पाटीमा स्थानान्तरण गरिएको छ । मूर्ति स्थानान्तरणपछि अब मन्दिर पूर्ण रुपमा भत्काइने छ । गणेश मन्दिरसँगै रहेका दुईवटा पानी टयाङ्कीमध्ये बाटोको बीचभागसम्म आएको एउटा टयाङ्की पूर्ण रुपमा भत्काइने छ भने अर्काे टयाङ्की पनि क्रमैसँगै भत्काइने छ । क्षमा पूजामा वडा सदस्य उद्धव बस्नेत, समाजसेवी कृष्णहरि खड्कासहित स्थानीयको सहभागिता रहेको थियो । ती टयाङ्कीलाई उपयुक्त समयमा के कस्तो बनाउने स्थानीयसँग छलफल गरी बनाउने निर्णय सर्वपक्षीय भेलाले गरेको थियो । गणेश मन्दिरसँगैको ट्रस बाटो विस्तार गर्दा सीमाङ्कन भित्र परेकाले भत्काउने तथा पिपलको रुख आवश्यकता अनुसार काँटछाँट गर्ने पनि सर्वपक्षिय छलफलको निर्णयमा उल्लेख छ ।
बानियाँहरूको कुलायन मन्दिर (जलपादेवी मन्दिर) सार्न पनि भोलि आइतबार क्षमा पूजा गरिने भएको छ । उपयुक्त स्थलको खोजी गरी उक्त मन्दिर निर्माण गर्न बानियाँहरु सहमति भएकाले सोही अनुसारको प्रक्रिया अघि बढाइने वडा कार्यालयको तयारी छ । चौतारोको इनारको समाधानमा हाल भइरहेको इनारलाई पुरेर सोही ठाउँमा कसैलाई असर नपर्ने गरी इनार बनाउने, धापाखेल चौतारा युथ क्लबलाई यहाँका स्थानीयहरूले उपयुक्त ठाउँमा बनाउने र त्यसका लागि वडा कार्यालयले सहजीकरण गर्ने भेलाले सर्वसम्मत निर्णय गरेको थियो ।