सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरभित्र बसोबास गर्ने ७७ वर्षदेखिका ज्येष्ठ नागरिकले कोभिशिल्डको दोस्रो मात्रा खोप बुधबार लगाउन पाउने भएका छन् । महानगरले वडा अनुसार तोकेको खोप केन्द्रबाट बिहान १० देखि ४ बजेसम्म खोप लगाउन सकिनेछ । खोप लगाउन जाँदा पहिलोपटक खोप लगाएको खोप कार्ड र उमेर खुल्ने कागजपत्र लिएर जानुपर्नेछ । महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको महानगरद्धारा जारी सूचनामा उल्लेख छ । महानगरभित्र कोभिशिल्डको दोस्रो मात्राको आवश्यकता अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त खोप अपुग देखिएपछि महानगरले प्रत्येक वडाबाट ७५ वर्षमाथिका कोभिशिल्डको पहिलो मात्रा लगाएको विवरण संकलन गरेको थियो । उक्त विवरण अनुसार कोभिशिल्डाको पहिलो मात्रा लगाएका ७७ वर्ष माथिका ज्येष्ठ नागरिकको संख्या दुई हजार दुई सय २० थियो । जबकी महानगरलाई प्राप्त खोप २५ सय थियो । वडाबाट प्राप्त विवरणको आधारमा हाललाई ७७ वर्ष माथि जेष्ठ नागरिकलाई मात्रै खोप लगाउन पुग्ने महानगरले जनाएको छ। साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवकलाई बाँकी खोप छुट्याइएको उल्लेख गरिएको छ ।
महानगरद्धारा जारी सूचना अनुुुसार ५ ,६, ७, ८, १२, १४, १५, १७ र १९ वडाका जेष्ठ नागरिकले लगनखेलस्थित पशु सेवा केन्द्र पशु अस्पताल, पाटन हाइस्कुल पाटन ढोका खोपकेन्द्रबाट १, ९,१०, ११, १६र २० का जेष्ठ नागरिकले खोप लिन सक्नेछन् । ललितपुर महानगरपालिका प्राडगणबाट २, ३, ४ र १३का जेष्ठ नागरिक, धापाखेल स्वास्थ्य चौकीबाट २३, २४, सुनाकोठीस्थित बालकुमारी स्कूलबाट २६, २७ को जेष्ठ नागरिकले खोप लिन सक्नेछन् । कार्य विनायक स्कुलबाट २१ , २२, हरिसिद्धी स्वास्थ्य चौकीबाट २८, २९ त्यसैगरी सैंबु स्वास्थ्य चौकीबाट १८ र २५ का ज्येष्ठ नागरिकले खोप लिन सक्नेछन् । ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ । पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने छ । लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुङ्मतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्यचौकीमा खोप लगाउन पाउने छन् प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज जारी गरेको सूचनामा जनाइएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी महानगरपालिकाले सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गर्ने तथा स्वास्थ्य मापदण्ड पालना गराई खोप कार्यक्रममा सहभागी गराउने सूचनामा जनाइएको छ ।