संघीय निजामति ऐन विपरीत गण्डकी प्रदेशमा प्रदेश निजामति कर्मचारी सेवा अध्यादेश जारी

शनिबार, पुस १३, २०८१
मयुर प्लाई
Global Ime Bank

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीय निजामति ऐन विपरीत हुने गरी गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) जारी गरेका छन् । प्रदेश प्रमुख भट्टले संघीय निजामति ऐन विपरीतको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकद्वारा मंगलबार पारित भएको प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) अध्यादेशलाई पारित गरिदिएका हुन् । संघीय निजामति ऐनले अस्थायी वा करारमा कर्मचारी राख्न निषेध गरेको छ । तर शुक्रबार जारी प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संशोधन) अध्यादेशमा ‘प्रदेश लोकसेवा आयोगद्वारा लिइएको परिक्षामा उत्तीर्ण भइ बैकल्पिक उम्मेदवारका रुपमा प्रतिक्षा सूचीमा रहेका उम्मेदवारलाई बढीमा छ महिनाका लागि अस्थायी नियुक्ति गर्न सकिने’ भनिएको छ । प्रदेश लोकसेवा आयोग गण्डकीले सरकारलाई करारमा कर्मचारी नराख्न बरु आवश्यक परे पदनाम दर्ता गरी अस्थायी सूचीबाट राख्न सुझाएको थियो । 
आयोगको सुझावबाट सरकार केही हच्केको पाइएको छ । आयोगमा परामर्शका लागि पठाइएको अध्यादेशको छायाँप्रतिमा करार वा अस्थायी उल्लेख भएकामा करार हटाएर अस्थायी शब्द मात्र राखिएको छ । 
संघीय निजामती सेवा ऐनबाट जस्ताको त्यस्तै सारेर गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १५ मा ‘क’ थपिएको छ । तर यसमा एउटा प्रतिबन्धात्मक वाक्य भने थप गरिएको छ । जुन संघीय ऐनसँग सरासर बाझिने जानकारहरु बताउँछन् ।
१५‘क’ मा अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था थपिएको हो । त्यसको उपदफा १ मा प्रदेश लोक सेवा आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरू मध्येबाट अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्ने उल्लेख गरिएको छ ।
उपदफा २ मा प्रदेश निजामती सेवाको कुनै रिक्त पदमा अस्थायी नियुक्ति गर्नुपर्ने भएमा सम्बन्धित मन्त्रालयले आयोगमा लेखी पठाउनुपर्ने र यसरी अस्थायी नियुक्तिका लागि उम्मेदवार माग गर्दा रिक्त पदमा स्थायी पदपूर्तिको लागि दफा १२ बमोजिम रीतपूर्वकको माग आकृति फाराम समेत भरी अनिवार्य रुपमा पठाउनुपर्ने उल्लेख छ । 
उपदफा ३ मा भनिएको छ, ‘उपदफा २ बमोजिम लेखी आएमा आयोगले योग्यताक्रमको सूचीमा रहेका व्यक्तिलाई सम्बन्धित मन्त्रालयको मागको आधारमा अस्थायी नियुक्ति गर्न नाम सिफारिस गरी पठाउनेछ ।’
उपदफा ४ मा उपदफा ३ बमोजिम सिफारिस भएका व्यक्तिलाई बढीमा ६ महिनासम्मको लागि सम्बन्धित मन्त्रालयले अस्थायी नियुक्ति गरिने भनिएको छ । उसको प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘उपदफा (१) बमोजिमको अस्थायी योग्यताक्रम सूचीबाट नपुग हुने भएमा वा अस्थायी योग्यताक्रम सूची प्रकाशन नभएको व्यहोरा आयोगबाट लेखी आएको अवस्थामा प्रदेश इन्जिनियरिङ सेवा र प्रदेश कृषि सेवाको हकमा रिक्त दरबन्दीमा स्थायी पदपूर्ति नहुँदासम्म यस उपदफा बमोजिम सम्बन्धित मन्त्रालयले प्रतिष्पर्धात्मक विधिबाट छनौट गरी एकपटकमा ६ महिनासम्मको लागि अस्थायी नियुक्ति गर्न बाधा पर्ने छैन ।’ 
करार भन्ने शब्द नराखी यहि प्रतिबन्धात्मक वाक्यलाई आधार मानेर सरकारी नियुक्तिका लागि मार्ग प्रशस्त गरेको छ । तर यसमा पनि अस्थायी योग्यताक्रम सूची प्रकाशन नभएको व्यहोरा आयोगबाट लेखी आउनु पर्ने भएकाले सरकारलाई नियुक्तिका लागि त्यति सहज भने छैन ।
आयोगको प्रकाशित अस्थायी योग्यतासूचीवाहेक स्थायी प्रकृतिको काम गर्नुपर्ने पदमा कुनै पनि तबरले अस्थायी वा करार नियुक्ति गर्न उपयुक्त समेत नहुने राय आयोगको थियो । उसले भनेको छ, ‘यसरी नियुक्ति गर्दा योग्यता प्रणालीमा अतिक्रमण हुन गइ योग्य उम्मेदवार प्रतिस्पर्धामा सहभागी हुन पाउने अवसरबाट बञ्चित गर्न मिल्दैन । समावेशितापूर्ण निजामती सेवा बनाउने ऐनको दफा १० को मर्म र भावना अनुरुप नहुनुका साथै निजामती सेवा ऐन २०४९ मा भएको व्यवस्थाको प्रतिकूल हुने भएकाले प्रतिबन्धात्मक वाक्यांश झिक्न आयोगको सुझाव थियो ।
प्राविधिक कर्मचारीको अभावमा बजेट खर्चसमेत प्रभावित भएको भन्दै सरकारले प्रदेश निजामती सेवा ऐनको प्रावधान फेर्न संसद छलेर अध्यादेश ल्याएको हो । प्रदेश निजामती सेवा ऐन २०७९ करारमा कर्मचारी राख्न रोक लगाएको छ ।
त्यही प्रावधान फेर्न सरकारले अध्यादेशको सहारा लिएको हो । प्रदेश लोक सेवा आयोगले करारमा कर्मचारी राख्न नहुने, बरु लोक सेवाकै अस्थायी सूचीबाट बढीमा ६ महिनाका लागि नियुक्त गर्नका लागि लेखी पठाउन सुझाव दिएको थियो ।
Photo-(34)-1735350299.jpeg
 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार