ललितपुरको इन्टेलिजेन्स ट्राफिक लाइटमा सर्वसाधारणदेखि भीआइपीसम्मलाई समान नियम

इन्टेलिजेन्स ट्राफिक लाइट जडानपछि दुर्घटनामा कमी, यात्रुलाई सहज
शनिबार, पुस १३, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर । ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टमसहितका ट्राफिक लाइट जडान गरेको छ । महानगरपालिकाले डेढ महिनाअघि कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक कन्ट्रोल सिस्टमसहितका ट्राफिक लाइट जडान गरेको हो । गत पुस गतेदेखि उक्त ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ ।  पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच स्थानमा लाइट जडान गरिएको छ । नेपाल न्यूज बैकसँगको कुराकानीमा महानगरपालिकाका सूचना अधिकारी देव गुरागाँईंले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ एआइ ट्राफिक लाइट जडान गरिएको जानकारी दिए । 

Photo-(1)-(42)-1735379533.jpg
उनका अनुसार इन्टेलिजेन्स प्रणालीमा आधारित रहेका लाइटले जता धेरै सवारी साधनको चाप छ, त्यतैतिर हरियो बत्ती बालेर अघिल्लै चोकबाट कन्ट्रोल गर्ने र जाम नभएको ठाउँमा अझ रफ्तार बढाउने गरी काम गर्छ ।  उनले भने, ‘ट्राफिक लाइट भन्ने वित्तिकै ट्राफिकलाई व्यवस्थापन गर्नको लागि गरिने भन्ने नै बुझिन्छ । अहिले जडान गरिएको ट्राफिक लाइट भनेको सवारीलाई अझै व्यवस्थापन गर्ने, हिजोको भन्दा अझ सवारी चापलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको हो । यसले चाँही एउटा चोकबाट अर्को चोकमा कहाँ बढी सवारीको चाप छ । त्यहाँ अघिल्लै चोकबाट कन्ट्रोल गर्ने र जाम नभएको ठाउँमा अझ रफ्तार बढाउने भन्ने हिसाबले सुरु गरिएको छ । अहिले हामीले कुपण्डोलदेखि सातदोबाटोसम्म यसलाई प्रयोगमा ल्याइराखेको छौ ।’ साथै, उनले यस सिस्टमले ट्राफिक लाइटमा यात्रुले धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने भएकाले सकारात्मक पाटो रहेको बताए ।  सहरी विकास योजना महाशाखा प्रमुख तथा परियोजनाका प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले महानगरले सुरुदेखि नै ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै आएको बताउँदै इन्टेलिजेन्स ट्राफिक लाइट २०२२ मा नै जडान गर्ने योजना रहेको तर केही कारणबस ढिलो भएको उल्लेख गरे । 

467467894_608873231469135_4765042379441695919_n-1735379543.jpg
लाइटले कसरी काम गर्छ
लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल रिड गर्छ र तत्कालै ट्राफिक लाइटको चिपलाई जानकारी गराउँछ । सोही जानकारीको आधारमा सिस्टमले जता धेरै सवारीसाधन छ, त्यतातिर हरियो बत्ती बाल्छ ।  उनले भने, ‘ललितपुर महानगरले सुरुदेखि नै ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै आएकाले यसै अन्र्तगत इन्टेलिजेन्ट ट्राफिक सिस्टम लिएर आएको हो । नेपालमा भएका ट्राफिक लाइट भन्दा यो धेरै नै फरक छ । लाइटले भेकल काउन्ट गर्छ । जसमा भेकल काउन्ट गरेर रातो र हरियो बत्तिको समय छुट्याउने गर्छ । इन्टिलिजेन्ट ट्राफिक सिस्टम पाँच ठाउँमा जडान गरिएको छ । यो जडान हामीले २०२२ मै गर्ने भने पनि केही कारणले समयमै जडान हुन सकेको थिएन । जडान खास एकदेखि डेढ वर्षमा सकिनुपर्ने हो तर केही वर्ष ढिला हुनपुग्यो ।’  अहिले ललितपुर बसपार्कलाई व्यवस्थापन गर्नको लागि दोस्रो फेजमा इन्टेलिजेन्स ट्राफिक लाइटलाई थप्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।  उनका अनुसार महानगरले पहिलो फेजको प्रोजेक्टमा ११७ वटा जक्सनको भिजिबिलिटि बुझाएको र त्यसमध्ये  ५० वटा प्रयोगमा जाने भनेर पहिले नै  निर्णय गरिसकेका छ । तर गणनामा जाँदा लगभग ६३ देखि ६५ थप्नुपर्ने अवस्था रहेको छ ।  ‘अहिले ललितपुर बसपार्कलाई कसरी व्यवस्थापन गर्ने भनेर धेरै नै अध्ययन गरिसकेका छौं । यसैबीचमा दोस्रो फेजमा इन्टेलिजेन्स ट्राफिक लाइटलाई थप्नुपर्ने अवस्था छ । सुरुमा हाम्रो कुपण्डोलको इन्ट्रान्स भयो, अहिले हामी जावलाखेलसम्म आइसकेका छौं । जावलाखेललाई बेस गरेर हामी दुई–दुई पोइन्टहरु पहिचान गरेर गएका छौं । यो पहिलो फेजको प्रोजेक्टमा हाम्रो सल्लाहकारले चाँही ११७ वटा जक्सनको भिजिबिलिटि बुझाएको छ । त्यसमध्ये ५० वटा प्रयोगमा जाने भनेर पहिले नै  निर्णय गरिसकेका छौं । तर काउन्टिङमा जाँदा लगभग ६३ देखी ६५ थप्नुपर्ने अवस्था देखियो’ उनले भने । 

बृहत गर्ने लक्ष्य
लाइट विस्तार गर्ने महानगरको लक्ष्य बृहत छ । गोदावरी नगरपालिकासँग समन्वय गरेर लाइट जडानको काम गोदावरीसम्म नै गर्ने लक्ष्य रहेको छ ।  ‘जावलाखेलदेखि लगनखेल हुँदै सातदोबाटोको हरिसिद्धिसम्म लाइट जडान गरिएको छ । तर हाम्रो लक्ष्य गोदावरीसम्म नै हो । तरपछि गोदावरी नगरपालिकासँग समन्वय गरेर यो लाइट जडानको काम गोदावरीसम्म नै गर्ने छौ । यसैगरी जाउलाखेलबाटै एकान्तकुना, नख्खु,  भैंसेपाटी हुँदै चुनीखेलसम्म नै जडान गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने । 
त्यसैगरी तेस्रो चरणमा पुल्चोकको महानगरको अगाडिको जक्सनलाई छोडेर माथिको पुलसम्म पनि अध्ययन गरिरहेको भन्दै आगामी ८२-८३ मा त्यहाँसम्म जडान हुनेगरी डीपीआर तयार गर्न लागेको पनि उनले जानकारी दिए । 

464907400_1303906277727744_306855554957375167_n-1735379538.jpg
उनले भने, ‘यसैको तेस्रो पाटोमा पुल्चोकको महानगर अगाडिको जक्सनको बाटोबाट अहिलेको जुन ग्वार्कोको ओभरपास बन्दैछ त्यसलाई छाडेर माथिको पुलसम्म पनि अध्ययन गर्दैछौ र यसको  लागि महानगरले बजेट पनि छुट्याएको छ । अहिले डीपीआर तयार गरेर आगामी ०८२-८३ मा त्यहाँसम्म जडान हुनेछ ।’  योजना प्रमुख महर्जनका अनुसार महानगरको आफ्नै लगानीमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरेको हो । जसमा पाँच स्थानमा जडान गर्दा ६ करोड ८८ लाख रुपैयाँ खर्च भएको छ । 
पछिल्लो समय पाँच ठाउँको जडानका लागि बजेट धेरै भयो की भनेर प्रश्न पनि आउने गरेको छ । तर अब आगामी जडानका लागि सफ्टवेयर किन्नु नपर्ने कारण खर्च कम हुने उनी बताउँछन् ।  ‘झण्डै ६ करोड ८८ लाखको प्रोजेक्ट हो । बजेट सबै ललितपुर महानगरकै हो । यसमा कसैबाट सहयोग मागेका छैनौं । पछिल्लो समय पाँच ठाउँको जडानका लागि बजेट धेरै भयो की भनेर प्रश्न उठिरहेका छन् । तर अब आगामी जडानका लागि सफ्टवेयर किन्नु पर्दैन ।, उनले भने, ‘सबैभन्दा ठूलो कुरा नै सफ्टेवयर किन्नु हो । अब त्यो छाडेर हामीले बत्ति, तार मात्र किन्ने हो । अब आगामी दिनको जडानमा धेरै खर्च आउँदैन ।’


बग्गीखाना उपत्यका ट्राफिक लाइट, सडक विभाग, यातायात विभाग सबैको राम्रो सहयोग भएता पनि नयाँ काम भएको हुँदा आमजनता, नगरपालिका र विभागहरुलाई पनि सिस्टम स्वीकार गर्न समस्या आइरहेको उनको भनाई छ । 
‘सडक, सडक विभाग अन्तर्गत पर्छ । उहाँहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ । दोस्रो कुरा ट्राफिक लाइट भनेको उपत्यका ट्राफिक प्रहरीको हो । उहाँहरुको लाइट सञ्चालनमा छ । उहाँहरुसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ । ट्राफिक लाइट उल्लंघनको कुरा यातायातसँग गर्नुपर्यो । सबैसँग राम्रो सम्बन्ध छ र सबैले राम्रो सहयोग गर्नु भएको छ । नयाँ कुरा भएको हुनाले जनता, नगरपालिका र माथि उल्लेख गरेका संस्थाहरुलाई स्वीकार गर्न समस्या आइरहेको छ’ उनले भने, ‘हामीले जहाँबाट बाटो काटीरहेका हुन्छौ त्यहीबाट काट्न पाए सजिलो हो । जुनबेला पनि जान पाए सजिलो हो । यस्तो व्यवस्थामा ढाल्न अलिक समस्या हुनु स्वभाविक नै हो । तर यसले सबैलाई नियम कानुनको दायरामा भने ल्याउँछ । यसबाट जनता र साधन दुवैको सुरक्षा हुने भयो यो सबैलाई फाइदा नै हुने कुरा हो ।’ 
विदेशमा प्राय जसो धेरै देशहरुमा इन्टेलिजेन्स ट्राफिक लाइटहरु नै जडान गरिएको हुन्छ तर नेपालमा भने यो लाइटको सफ्ट्वयर भारतबाट आयात गरिएको हो । 
जापानको जस्तो प्रविधि नेपालमा लागू गर्न नसकिने अवस्था देखेपछि भारतबाट सफ्ट्वयर आयात गरिएको भन्दै उनले भने, ‘यसको बारे त्यस्तो ज्ञान थिएन । विज्ञहरुको सहकार्यमा प्रोजेक्ट लन्च त गर्यौ । यसै विषयमा जापान गएका थियौं त्यहाँबाट पनि धेरै कुराहरु सिक्न पायौं । तर जापानको जस्तो प्रविधि लागू गर्न सकिन्छ जस्तो देखिएन र त्यसपछि भारत जाने कुरा भएको हो । भारतसँग हाम्रो लगभग सबै कुरा मिल्ने भएको हुनाले त्यहाँबाट आएपछि यसलाई अगाडि बढाइएको हो । पहिला सोचेको तुलनामा धेरै नै परिवर्तन गर्नुपर्यो यो लाइटमा तर जति लागत हो त्यही भित्र बसेर नै काम पूरा गरेका छौ । भारतबाट सिकेको कुरा प्रयोग भएको छ ।’ 

चुनौती प्रशस्त 
इन्टेलिजेन्स ट्राफिक लाइट लगाएपछि ट्राफिक नियन्त्रणमा सहजता भएपनि यसका केही चुनौतीहरु पनि छन् । विभिन्न चाडपर्वको बेला हुने पैदलयात्री र सवारी साधनको चाप धेरै बढ्ने भएका कारण थाम्न नसकेको अवस्था पनि भोग्नु परेको महर्जन बताउँछन् । 
जनताले ट्राफिक व्यवस्थापनमा समस्या देखेपछि लाइट नै भएन भन्ने प्रश्न सम्म उठाएको भन्दै ट्राफिक प्रहरीलगायत अन्य सरोकारवालहरुसँग बसेर यसको समाधान खोजी रहेको उनले जानकारी दिए ।  उनले भने, ‘समस्या भनेको चाडपर्वको बेला अलि गाह्रो हुन्छ । अस्ति क्रिसमसको बेला भीडले गर्दा थाम्न नै नसकेको अवस्था थियो । एक त त्यस्तो अवस्थालाई फोकस गरेर बनाएको पनि थिएन, एक दुई दिनको लागि मात्र हुने हो भन्ने थियो । त्यस्तो बेला व्यवस्थापन गर्न समस्या परेको थियो । जनताले पनि यो समस्या देखेपछि लाइट नै भएन भन्ने कुरा उठाएका छन् । साधनको समस्या भन्दा पनि मान्छेको संख्या बढी भएपछि समस्या हुन्छ । यस विषयमा ट्राफिक प्रहरीलगायत अन्य सरोकारवालहरुसँग बसेर यसको समाधान खोजी रहेका छौ ।’

सहज ठान्छन् हाछेथु
यस्तै ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, चाडवर्पमा हुने चापलाई आफूले चुनौतीको रुपमा नलिएको बताए । 
आफूसँग ट्राफिक पुलिसमा २९ वर्ष काम गरेको अनुभव रहेको सुनाउँदै उनले जस्तो अवस्थामा पनि ट्राफिक व्यवस्थापन सजिलै गर्न सक्ने दाबी गरे ।   उनले भने, ‘जात्राको बेलामा पनि ९९ प्रतिशत त बत्ति निभाउदै निभाउदैनौं । मान्छे पेटीमा जानुपर्यो नि । मान्छेलाई साइडमा लगाउने पार्किङको व्यवस्था मिलाउने हो । जात्रा केही समयको मात्र हुन्छ । जस्तो चाडपर्वमा पनि म मिलाउन सक्छु । कुनै पनि कुरालाई समस्याको रुपमा हेरिन । पाँचसात मिनेट रोकेर पास गर्दा केही फरक पर्दैन् ।’ 

467459381_1688858792024923_6516908681933705531_n-1735379546.jpg
त्यस्तै काठमाडौंको थापाथलीमा राम्रो ट्राफिक व्यवस्थापन नगरेका कारणले समस्या परेको भन्दै उनले भने,‘एउटा समस्या के हो भने थापाथली चोकमा बत्ति निभाइदिन्छन् । त्यहाँबाट दुई मिनेटमा ५० वटा गाडी पठाउनुपर्ने ठाउँमा पाँच मिनेटसम्म पठाएको पठाइ गरिदिन्छन् । त्यहाँबाट १२० वटा गाडी आउँछन् । त्यो त हाम्रो ट्राफिक लाइटले भ्याउँदैन् । उहाँले पनि बाल्नुपर्छ अनि बल्ल सिस्टममा जान्छ ।’  ललितपुर महानगरले ट्राफिक लाइटको व्यवस्थासँगै अर्को एउटा नयाँ अभ्यासको सुरुवात गरेको छ । ललितपुरमा ट्राफिक लाइटको नियम पालना भीआइपीले समेत गर्नुपर्ने सिस्टम छ  । भीभीआइपी बाहेक कसैको लागि पनि ट्राफिक लाइट बन्द नगर्ने प्रहरी प्रमुख हाछेथु बताउँछन् ।  उनले भने, ‘टप लेभलका पाँच भीभीआइपी भन्छौ उहाँहरु आउनुभयो भने मात्र ट्राफिक लाइट निभाउने गरेका छौं । सुरक्षाका लागि सडकमा बस्दा ठूलो बत्ति बालेर आए भनेपछि आधा घण्टासम्म कुरिरहेको हुन्छ । उहाँलाई पठाउँदा लाइनमा बसेको सर्वसाधारणलाई रिस उठ्छ । सडक ठूलाबढाको मात्र हो त, हामीले मात्र नियम पालना गर्नुपर्ने ? भन्ने यो समस्याबाट मुक्त भएका छौं अहिले ।’ साथै, उनले इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरिएसँगै ट्राफिक प्रहरीलाई पनि धेरै सहज भएको बताए । धेरै जाममा बस्नुपर्ने, बाटो काट्ने पालो कुर्नपर्ने, धेरै दुर्घटना हुने जस्ता समस्याहरुको समाधानको बाटो इन्टेलिजेन्स ट्राफिक लाइट बनेको उनको भनाई छ ।  ‘म पूर्वट्राफिक प्रहरी हो । म सडकमा २९ वर्ष बसेको छु । हात हल्लाएर ट्राफिक जाम खोल्ने ट्राफिक पुलिसले नै हो । तर अहिले लाइटले गर्दा ट्राफिक पुलिसलाई पनि धेरै सहज भएको छ । पहिले गाडी पाँचसात मिनेटसम्म तान्थ्यौं । समय थाहा हुन्न थियो, उनले भने, ‘अहिले दुई मिनेट भन्दा बढि हुन्न । पहिला बाटो काट्ने पालो आउँदैनथ्यो । अहिले त्यो समस्या छैन् । यसका साथै लाइटले दुर्घटना पनि कम गर्छ । यसको सबैभन्दा राम्रो कुरा २४ घण्टा लाइट अन हुन्छ । नेपालमा यो अहिलेसम्म अभ्यास गरिएको थिएन । पहिला राति निभाउने गरेका थियौं सुनसानमा किन चाहियो भनेर । त्यो हाम्रो अबुझ रहेछ  । रातीको समयमा पनि लाइट अफ हुँदा ओभर स्पिड हुने गर्छ । र दुर्घटना हुने हुन्छ । त्यसलाई यो सिस्टमले कम गर्छ ।’

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार