सरकारका प्रवक्ता सञ्चारमन्त्री गुरुङद्वारा पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रुपमा आलोचना

आइतबार, पुस १४, २०८१
मयुर प्लाई
Global Ime Bank

पोखरा । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको सार्वजनिक रुपमा आलोचना गरेका छन् । पोखरामा शनिबारदेखि शुरु भएको २६ औं सडक महोत्सवको उद्घाटन समारोहमा सरकारका प्रवक्ता गुरुङले पर्यटनमन्त्री पाण्डेको आलोचना गरेका हुन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै मन्त्रीगुरुङले २–३ महिना हुँदा पनि ती बुँदा कार्यान्वयन नभएकोमा आलोचना गरे । २० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताए । मन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तरराष्ट्रिय बिमानस्थलबाटै हुनुपर्नेमा जोड दिंदै त्यसका लागि सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छवटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुपर्ने आवश्यकता औँल्याए । ‘पोखरालाई शिक्षा, स्वास्थ्यलगायत केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ । यहाँ डेटा सेन्टर बनाउन सकिन्छ । धौलागिरि, अन्नपूर्ण, मनास्लुजस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ’, मन्त्री गुरुङले भने, ‘प्रदेशको पर्यटन विकासका लागि सङ्घको मुख ताकेर हुँदैन । अब आफ्नो क्षमताले भ्याउन काम गरेर यहाँको विकासलाई गतिदिन आवश्यक छ ।’
 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार