सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । गत मंसिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको निर्णय मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको हो । बैठकले वैचारिक, राजनीतिक, आर्थिक, संगठनात्मक, साँस्कृतिक क्षेत्रमा ऐतिहासिक एवं दूरगामी महत्वका निर्णयहरु गरेको छ ।
विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको छ । बैठकले पार्टीका विचार र प्रस्तावलाई स्पष्ट गर्न देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए । उक्त पार्टीले २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषतासहितको समाजवादको पक्षमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइने उनले जानकारी दिए । उक्त पार्टीले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याजलगायत समस्या समाधानमा सरकारलाई जवाफदेही बनाउन आगामी फागुन २१ गतेदेखि झापा–कञ्चनपुर जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले सिंगो मुलुकलाई आत्मनिर्भरतासहित समृद्धितर्फ अघि बढ्न नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अघि बढाउने, उत्पादन वृद्धि गरी काठमाडौँ उपत्यकामा ‘सी व्यापार केन्द्र’ सञ्चालन गर्ने निर्णय गरेको महासचिव चन्दले जानकारी दिए । राजनीतिक कार्यहरुबारे निम्न निर्णयहरु गरिएका छन् : क) नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिका १० वर्ष भित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस, अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने छ । ख) देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने निर्णय लिइएको छ । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रीय समिति, ज.व.स. मोर्चाका नेता, सामना साँस्कृतिक परिवारसहितको टोली सहभागी बन्ने छ । ग) क्रान्तिकारी पार्टीहरुसंग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसंग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको छ । घ) पार्टीका विचार र प्रस्तावहरुलाई स्पष्ट गर्न देशव्यापी रुपमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिने छन् । ङ) आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिइने छ । च) समाजवादी संघीयताको विचार एवं जनताको आन्दोलनको मर्म अनुसार हाल राज्यले कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किराँत लिम्बुवान प्रदेश नामाकरण गर्ने, त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरुसंग छलफल बढाउने निर्णय लिइएको छ
संघर्षका सन्दर्भमा निम्न निर्णय लिइएका छन् : क) देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेप विरुद्ध भण्डाफोर चलाउने, ख) भ्रष्टाचार, कमिसनखोरी, मिटरव्याज, बैंक व्याजआतंक विरुद्ध जनसंघर्ष संचालन गर्ने, ग) सुकुमवासी, गरिब किसान, महिला, श्रमिक समुदाय विरुद्ध भइरहेका उत्पीडन, दमन, अत्याचार विरुद्ध केन्द्र र स्थानीय तहबाट संघर्षहरु सञ्चालन गर्ने, घ) युवा पलायनता रोक्न जागरण अभियान चलाउने, राज्यको दलाली प्रवृत्तिको भण्डाफोर गर्ने, ङ) जाजरकोट भूकम्पपीडित जनतालाई दोस्रो किस्ता रकम उपलब्ध गराउन पहल गर्ने ।
आर्थिक कार्यबारे निम्न निर्णय गरिएका छन्, क) पार्टीलाई मात्र होइन देशलाई नै आत्मनिर्भरतासहित समृद्धितिर बढ्न पार्टीले नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यन्वयन गर्ने, ख) कृषि उत्पादनसहित उद्योग संचालनका लागि अध्ययन अगाडि बढाउने, ग) उत्पादन कार्यमा सहयोग गर्ने जनता र व्यववसायी मित्रहरुलाई धन्यवाद दिइयो साथै व्यवसायी साथिहरुसँग भइरहेको सहकार्यलाई विस्तार गर्दै उत्पादनलाई वृद्धि गर्न पहल गर्ने, घ) यो योजनाभित्र उपत्यकामा सी व्यापार केन्द्र संचालनमा ल्याउने ।
साँस्कृतिक कार्यबारे निम्न निर्णयहरु गरिएका छन् : क) सामना साँस्कृतिक परिवारले माघमा साँस्कृतिक कार्यक्रम संचालन गर्ने, ख) मेची–महाकाली अभियानमा सामना साँस्कृतिक परिवार सहभागी बन्ने, ग) विभिन्न साहित्यीक कार्यक्रम चलाउने, घ) नेपाली जनसंस्कृति एवं प्रगतिशील संस्कृतिको संरक्षण एवं विकास गर्न जनसंस्कृति संरक्षण मंच निर्माण गर्ने, ङ) महान् जनयुद्ध दिवस, सहिद सप्ताह, महिला दिवस, अनेकोट प्रतिरोध दिवस, अन्तर्राष्ट्रिय मजुर दिवस, विद्यार्थी दिवस लगायतका पर्वहरु भव्यतापुर्वक सम्पन्न गर्ने, च) प्रगतिशील साँस्कृतिक आन्दोलन चलाउन संगीत अभियात्रासहितका कार्यक्रमलाई सहयोग गर्ने । छ) पार्टीका प्रकाशनलाई सुव्यवस्थितरुपले नियमित प्रकाशन गर्ने निर्णय लिइएको छ । ज) केन्द्रीय कार्यालय, कम्युन र देशभरी चलिरहेका निर्माण कार्यलाई निरन्तर संचालन गर्ने निर्णय लिइएको छ ।