विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक : प्रचण्ड

मंगलबार, पुस १६, २०८१
मयुर प्लाई
Global Ime Bank

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न संभव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताएका छन् ।  चितवनको भरतपुर महानगरपालिकाले मेघौलीमा आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै उनले भने, केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको छ । यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्वपूर्ण प्रयास गरिरहेको छ । अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको दाबी गरे ।   अहिले चितवनबाट बिदेश जाने क्रम उल्लेख्य रुपमा कम भएको स्पष्ट गर्दै उनले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको बताए ।  ‘आगामी दिनमा देशभरिकै स्थानीय तह, प्रदेश र केन्द्रले पनि विकासमा नयाँ र मौलिक मोडल दिएर देशमा विकास निर्माण र रोजगारी सिर्जना गर्न संभव छ भन्ने भाष्य स्थापित गर्न आवश्यक छ’, अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय समुदायको सहयोग र समर्थन लिएर राजनीतिक नेतृत्वले विकास लगायत हरेक क्षेत्रमा नमूना देखाउन आवश्यक छ । अबको प्रतिष्पर्धा यसमै हुनुपर्छ ।’

WhatsApp-Image-2024-12-31-at-18.40.52-1735655958.jpeg
चितवनमा भौतिक पूर्वाधार र मानवीय विकास नमूनायोग्य रुपमा भइरहेको उल्लेख गर्दै उनले आफू पनि चितवनको नागरिक हुनुको नाताले गौरव महसुस भइरहेको बताए । अध्यक्ष प्रचण्डले अब चितवन विस्तारै देशभित्र मात्र होइन, विश्व समुदायकै लागि पुग्नैपर्ने ठाउँको रुपमा स्थापित हुने बताए । चितवनमा खेल पूर्वाधारका लागि पनि महत्वपूर्ण काम भइरहेको उल्लेख गर्दै उनले खेलप्रति देशव्यापीरुपमा देखिएको युवाहरुको क्रेजलाई सम्बोधन गर्न खेल पूर्वाधारमा ध्यान दिनुपर्ने बेला आएको बताए ।  आफूले तीनपटक सरकारको नेतृत्व गर्दा जनताले प्रष्टसँग अनुभूति गर्नसक्ने गरी काम गरेको स्मरण गराउँदै  अध्यक्ष प्रचण्डले अब राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन र सुशासन स्थापित गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

WhatsApp-Image-2024-12-31-at-18.40.50-1735655965.jpeg
‘मैले पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्गको सुरुवात र गरीब किसानको ऋण मिनाह गर्ने निर्णय गरें भने दोस्रो कार्यकालमा लोडसेडिङमुक्त नेपालको निर्माण र संविधान कार्यान्वयनको वातावरण बनाएँ’, उनले भने,  ‘तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर प्राप्त गरें ।’ एकथरि मान्छेहरुलाई यो अभियान मन नपरेर सरकार ढालिएको उल्लेख गर्दै उनले भने, ‘म अहिले जनताको बीचमा छु, मुलुकमा स्थिरता र विकासको सपनासहित दौडिरहेको छु, आम जनताको साथ सहयोग प्राप्त हुँदै गएको छ । मलाई यो पटक प्रधानमन्त्री भएको बेलामा भन्दा जनताको बीचमा जाँदा सम्मान प्राप्त भएको छ ।’ भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले सम्बोधन गरेका थिए । 

WhatsApp-Image-2024-12-31-at-18.40.49-1735655967.jpeg
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार