सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । अवैध रुपमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु रौतहट प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–५ मा रहेको तीनवटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार शनिबार बिहान ७ बजे गएको प्रहरी टोलिले भट्टी नष्ट गर्नुका साथै उत्पादनमा प्रयोग भएका सामन बरामद गरेको छ । भट्टीबाट तयारी मदिरा ७ सय लिटर, कच्चा पदार्थ २ हजार ८ सय लिटर, मदिरा बनाउन प्रयोग हुने हण्डा चार थान डिक्चि ८ थान , स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान र चुल्हो सहितका सामान बरामद गरिएको उनले जानकारी दिए । बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीयहरुको रोहवरमा नष्ट गरिएको उनको भनाइ छ । यस कार्यमा संग्लनहरु भागेकाले खोजी भइरहेकोे उनले बताए । त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा भट्टीहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्राय घरेलु मदिराका कारण गाँउ घरमा झैझगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरु नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको उल्लेख गरेको छ । घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाइ छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ ।