सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडामा रहेको सगरमाथा महिला समूहले आफ्नौ छैठौं वार्षिक साधारण सभा हिजो शनिबार सम्पन्न गरेको छ । विसनदेवी मन्दिरको प्राडगणमा आयोजित साधारण सभामा समूहका पूर्व अध्यक्ष इन्दिरा कार्की तथा लक्ष्मी ठकुरीलाई उहाँहरुले समूहको अध्यक्ष रहँदा पुर्याउनु भएको योगदानको स्मरण गर्दै सम्मान गरेको छ । साधारण सभाका प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जङग पाण्डेले पूर्व अध्यक्षद्धय कार्की र ठकुरीलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । समूहकी अध्यक्ष अनिता थापाको सभापतित्वमा आयोजित साधारण सभामा प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जङग पाण्डे रहनु भएको थियो । साधारण सभामा वडा सदस्यद्धय निशा मालबुल तथा उद्धब बस्नेत विशेष अतिथिका रुपमा सहभागी हुनु भएको थियो ।
आपसी सहयोग, सदभाव, आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउने र हाम्रो टोल, छरछिमेक तथा समुदायलाई थप व्यवस्थित गर्ने उद्देश्य राखि ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलमा २०६९ सालमा विसनदेवी तथा भण्डारी टोलमा स्थायी रुपमा बसोबास गर्ने महिलाहरुको भेला तथा सक्रियतामा स्थापना भई महानगरको समाजकल्याण महाशाखामा २०७२ सालमा दर्ता गरिएको महिला समूहमा हाल ६० जना सदस्य रहेका छन् । सुरुवातमा रु. १०० रुपैयाँ बचत गरिएकोमा समयअनुकुल बनाउन यो बचत रकमलाई बढाए रु. १००० पुर्याइएको छ । बचत रकमको ६ प्रतिशतका दरले ब्याज दिएको समूहले ऋण लगानीमा १२ प्रतिशतका दरले ब्याज लिने गरेको छ । ०.५ प्रतिशत सेवा शुल्क लिने गरिएको यो आर्थिक वर्षदेखि १ प्रतिशत पुर्याउने योजना समूहले सार्वजनिक गरेको छ ।
समूहले आ.व २०८०/०८१ मा धापाखेलको सान धार्मिक एवम् पर्यटकीय स्थल नागदहमा नाग पञ्चमीको दिन लाग्ने मेलामा समूहका सदस्यहरुलाई स्वयम् सेवकका रुपमा परिचालन गरी सहयोग, वडा कार्यालयको नयाँ भवन अगाडि तीनकुने पोखरीमा स्थापना गरिएको नारायणको मूर्ति स्थापना गरिएको दिनमा महिला समूहका सदस्यको सक्रिय सहभागिता रहेको विवरण वार्षिक प्रतिवेदनमा समेटिएको छ । समूहले वर्षको दुई पटक टोल सरसफाई तथा हरेक महिनाको अन्तिम शनिबार विसनदेवी मन्दिर लगायत आसपासका क्षेत्रमा सरसफाई कार्य गर्दै आएको छ ।
नारी दिवसका अवसरमा वडा कार्यालयले वडा भित्र रहेका महिला समूहलाई सम्मान गरेका यो समूह पनि सम्मानित भएको र उक्त रकम धापाखेलमै रहेको मानव सेवा आश्रममा रहेका असायहको लागि सहयोग स्वरुप उपलब्ध गराइएको थियो । समूहका सदस्यहरु वडा कार्यालयले आयोजना गरेका सचेतना मूलक तथा व्यावासायिक तालिममा सहभागी भएको विवरण वार्षिक प्रतिवेदनमा समेटिएको छ । समूहका सदस्यहरु हरेक साँझ ५ बजेदेखि विसनदेवी मन्दिर परिसरमा रहेको सामुदायिक भवनमा हारमोनियम बजाएर भजनकीर्तिन गाउने तथा कृष्ण झुला, चैत्र पूर्णिमामा दिप प्रज्जवलन तथा हवन जस्ता कार्यक्रममा समेत सहभागी रहको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । समूहमा संकलित रकमबाट ऋण लिएर समूहका सदस्यहरुले सिलाई तथा पार्लर, तरकारी खेती, गाईपालन, मखमली खेति, मसला व्यवसाय, खाजा तथा चिया पसल, किराना पसल सञ्चालन गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । समूहले टोलमा महिनाको एक पटक सरसफाई सम्बन्धी कार्यक्रम गर्ने तथा वडा कार्यालयमा सञ्चालन गरिने हरेक कार्यक्रमहरुमा सहभागी भई सहयोग गर्ने भन्दै भावी कार्यक्रम सार्वजनिक गरेको छ ।
साधारण सभामा प्रमुख अतिथि वडाअध्यक्ष दिनेश जंग पाण्डेले महिला समूहलाई सगरमाथा नाम जस्तै अन्य समूहलाई अनुसरण गर्ने खालको काम गर्न शुभकामना दिनुभयो । उहाँले महिला समूहको सफलता असफलता समूहको आर्थिक पारदर्शीतामा निर्भर रहने भन्दै आर्थिक पारदर्शीता कामय राख्न समूह सदस्यहरुलाई सुझाव पनि दिनुभयो । वडाअध्यक्ष पाण्डेले मूल सडक १४ मिटरका हुँदा विसनदेवी मन्दिरको आधा भाग जसो सडकको मापदण्ड भित्र पर्ने भएकाले यो मन्दिरको व्यवस्थापनका विषयमा टोल बासी तथा महिला समूहसँग छलफल गरी उपयुक्त निर्णय लिइने बताउनु भयो । साधारण सभामा वडासदस्य निशा मालबुल तथा उद्धव बस्नेतले समूहको गतिविधिको बारे चर्चा गर्दाै आगामी दिनमा थप हौसला प्राप्त हुने हिसाबमा काम गर्न सुझाव दिनुभयो । समूहकी सदस्य रेखा केसीले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रममा शान्ति भण्डारीले समूहका बारेमा प्रकाश पार्नु भएको थियो ।