सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । बाढी र पहिरोका कारण क्षति ग्रस्त दक्षिण ललितपुरको नल्लु मुहान व्यवस्थानमा काम गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सुरु गरेको काममा अवरोध हुन थालेपछि ललितपुरका दुई पालिकाका जनप्रतिनिधिको अगुवाईमा केयुकेएलका प्रतिनिधिसहित स्थानीयवासीसँग आइतबार गोदावरी नगरपालिकामा छलफल भएको छ ।
गोदावरी नगरपालिकाको सभाहलमा उक्त नगरपालिकाको वडा नं. १० का वडाअध्यक्ष शेखर न्यौपाने, वडा नं. ६ का वडाअध्यक्ष विष्णुमान महर्जन, ललिपतुर महानगरपालिका वडा नं. २३ का वडाअध्यक्ष जीवन महर्जन, २४ नं. वडाका वडाअध्यक्ष दिनेश जंग पाण्डे, २६ नं. वडाका वडाअध्यक्ष सुरेश महर्जन तथा केयुकेएल जाउलाखेलका प्रमुख इन्जिनियर इला भट्ट, केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईसहित केयुकेएलका प्राविधिकसहित नल्लुबासीसँग छलफल भएको हो ।
असोजको दोस्रो साता आएको बाढी–पहिरोले नल्लु तथा बासुकी खानेपानी मुहान क्षतिग्रस्त हुँदा गोदावरी नगरपालिकासहित, ललितपुर महानगरपालिकाका वडा नं. २३ र २४, २६ मा खानेपानीको समस्या देखिएको छ । मेलम्चीको पानी ललितपुर महानगरका भित्री वडाहरुमा सहज तवरले वितरण भए पनि बाहिरी वडामा समानुपातिक वितरण नहुँदा समस्या जटिल बनिरहेको छ । केयुकेएलका प्रतिनिधिहरुले नल्लु, बासुकी मुहानमा खानेपानी व्यवस्थानको काम सुरु गर्दा केही व्यक्तिबाट अवरोध आएको छलफलमा जनप्रतिनिधिलाई अवगत गराएका थिए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नल्लु मुहानमा बाढीले पुरेको–भाँचिएको पाइप व्यवस्थापनको काम गरिरहेको छ । छलफलमा ललितपुर महानगरपालिका २३ नं. वडाका वडाअध्यक्ष जीवन महर्जनले स्थानीयको माग सम्बोधनका लागि महानगरपालिका तयार रहेको जनाउँदै माग वडा, गाउँपालिका हुँदै छिमेकी पालिकाहरूमा आउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीयले राखेका माग सम्बोधन गर्न नसकिने खालका छैनन, तर विधि र प्रक्रिया अनुसार आउनु प¥यो । राज्यका निकायले व्यक्ति–समूहलाई सोझै सहयोग अनुदान दिने भन्ने हुँदैन ।’ छलफलमा ललितपुर महानगरपालिका २४ नं. वडाका वडाअध्यक्ष दिनेश जङग पाण्डेले महानगरपालिकाले दिने सहयोगका लागि आफूहरू तयार रहेको जनाउँदै स्थानीयलाई मुहान व्यवस्थापनमा सहजीकरण गर्न आह्वान गर्नुभयो । ‘स्थानीयको माग सम्बोधन गर्नै नसक्ने खालका छैनन, तर पनि माग सम्बोधनका आफ्नौ प्रणाली छन्, यहाँहरूले सोही अनुसार गर्नुहोला’, वडाअध्यक्ष पाण्डेले भन्नुभयो ।
दक्षिण ललितपुरबाट आफ्नो वडामा आएर बसोबास गरिरहेका धेरैको समस्या आफूले समाधान गरिदिएको स्मरण गर्दै वडाअध्यक्ष पाण्डेले भन्नुभयो,‘हामीले भोगेको समस्या समाधानमा पनि नल्लुवासीले गम्भीरता पूर्वक लिइदिनु होला । मुहान व्यवस्थानको काममा सहजिकरण गरिदिनुहोला ।’ गोदावरी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शेखर न्यौपानेले प्राकृतिक विपत्तिबाट उपत्यामै सबैभन्दा बढी पीडित आफ्नो नगरपालिका भएपनि नगरवासीलाई खानेपानी समस्याबाट मुक्त गराउन नगरपालिकाले नल्लुवासीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । नल्लु खानेपानी मुहान व्यवस्थानका लागि गरिने प्याकेजमा गोदावरी नगरपालिका सबै कुरामा सहमत हुने भन्दै वडाअध्यक्ष न्यौपानेले स्थानीयलाई वडा कार्यालय, गाउँपालिका हुँदै विधि र प्रक्रिया अनुसार माग राख्न सुझाव दिनुभयो ।
गोदावरी नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष विष्णुमान महर्जनले समस्या समाधानका लागि गाउँपालिका, वडाका जनप्रतिनिधि अनिवार्य भएको बताउँदै समूहसँग स्थानीय सरकारका प्रतिनिधिले कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । ‘गोदावरी नगरपालिका तथा महानगरपालिकाबाट जनप्रतिनिधि छलफलमा सहभागी हुनुभएको छ । तपाईहरू जनप्रतिनिधि वेगर नै छलफलमा बसिरहनु भएको छ । जनप्रतिनिधि वेगर कुनै सम्झौता हुनै सक्दैन । हामीले पनि तपाईहरूसँग वार्ताका लागि भनेर युवा पठाउने हो भने स्थिति झन् ‘कन्फरट्रेसन’तर्फ जान्छ’ वडाअध्यक्ष महर्जनले भन्नुभयो । नल्लुवासीले अहिले केयुकेएलका तर्फबाट मुहान व्यवस्थानका लागि भइरहेको काम रोकेर छलफल गर्न राखेको प्रस्तावलाई ठाडै अस्वीकार गर्र्दै गोदावरी–६ का वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘केयुकेएलका तर्फबाट भइरहेको काम रोकेर हामी छलफलमा बस्दौनौं ।’
व्यक्तिगत समस्या राज्यका निकायहरूले समाधान नगर्ने उल्लेख गर्दै केयुकेएलका प्रबन्धक तथा प्रवक्ता प्रकाशकुमार राईले समस्या राख्ने पनि पद्धति भएकोले सोही अनुसार गर्न स्थानीयवासीलाई सुझाव दिनुभयो । छलफलमा नल्लुवासीले कोन्ज्योसोम गाउँपालिकालाई गोदावरी नगरपालिका, महानगरपालिकाले दिएका सहयोग नल्लु क्षेत्रमै खर्च गर्ने वातावरण बनाइदिन दुई पालिकाका जनप्रतिनिधिसँग राखेका थिए । ललितपुर महानगरले आफ्नो पालिकालाई दिएको पचास लाख, गोदावरी नगरपालिकाले दिने सहयोग सोही क्षेत्रमा खर्च गर्ने गरी सहमति हुनुपर्नेमा जोड दिँदै मुहान व्यवस्थानका लागि केयुकेएलले गरिरहेको काममा अवरोध नहुने बताएका थिए ।