बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा ढिलाइ, दैनिक नृत्यकर्ममा समस्या

आइतबार, पुस २१, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । ललितपुर महानगरपालिका २२ नं वडा बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर अझै पुनर्निर्माण हुन सकेको छैन । पहिले ठेक्कामा लगाएर काम सुरु गरिएको भएपनि स्थानीयले सम्पदाको मौलिकपना हराएको भन्दै विरोध गरेपछि निर्माण भइसकेको खण्ड भत्काएर पुनः निर्माण थालिएको थियो ।  वि.स.२०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको हो । भूकम्प गएकै वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण कार्यको सुरूआत यहीँबाट गरेका थिए ।  मन्दिरको निर्माण चित्त बुझ्दो नभएको भन्दै स्थानीयबासीले आवाज उठाएपछि भत्काएर फेरि निर्माण गर्नुपर्दा काम ढिलाई भएको रातो मच्छिन्द्रनाथ निर्माण उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य बताउँछन् ।  मच्छिन्द्रनाथको मन्दिरमा ५२ थरीका ईंटाको प्रयोग भएको र सोही स्वरुपमा निर्माण गर्नका लागि मन्दिरले माग गरेका सामग्री बजारमा अर्डर गर्नुपर्ने भएकाले पनि काम ढिला भएको शाक्यको भनाई छ । 
उनले भने, ‘यो निर्माण कार्यमा ढिला हुनुको कारण भनेको एउटा कोभिड पहिलो कारण हो । दोस्रो भनेको श्रीलंकन सरकारले पहिला ठेक्कामा १४ फिट बनाएको संरचना भत्काएर पुनः काम गर्नु परेकाले ढिलाइ भएको हो । तेस्रो कारण भनेको मच्छिन्द्रनाथको मन्दिरका लागि माग गरिएको सामग्री बजारमा अर्डर गर्नुपर्ने भएकाले ढिला भएको हो । मन्दिरमा ५२ थरीका ईंटा छन् । शिखर शैलीको मन्दिर भएकाले पनि एउटा एउटा ईंटाको महत्व छ । मन्दिरले चाहेको र मागेको सामान बजारमा अर्डर गर्नुपर्ने भएको हुनाले पनि ढिला भएको हो ।’ पुरानो ईंटा जसरी बनाइएको त्यसरी नै बनाउने भनेर भूकम्पपछि यहाँको सामान फन्छाएर फालेको ठाँउमा पनि गएर र्इंटाहरु उठाएर ल्याएको पनि उनी बताउँछन् ।  यसका साथै मन्दिरमा चारसय ५४ किलोको माटोको झ्याल पनि रहेको छ जसलाई बनाउनका लागि तीनजना दक्ष कलाकर्मीलाई ९३ दिन लाग्छ । तयार भएर प्रयोगमा ल्याउनको लागि १३ महिना सुकाउनु पर्छ ।  मौलिकता जोगाउने हिसाबले जस्तो पहिला थियो त्यस्तै निर्माण गर्नको लागि आवश्यक सामान अहिलेको परिवेशमा पाउन पनि चुनौतीपूर्ण कुरा भएको हुनाले पनि मन्दिर निर्माणमा ढिलाई भइरहेको निर्माण पक्षको दाबी छ ।  शाक्यका अनुसार कानुनी जटिलताहरु आए पनि बजेटको कारण भने काम रोकिएको छैन ।  उनले भने, ‘बजेटको कारणले अहिलेसम्म काम रोकिएको छैन । नेपाल सरकार पुरातत्व विभागसँग हामीले झण्डै तीन करोड ८ लाख ६९ हजार रुपैयाँमा सम्झौता गरेको हो । जससमध्ये हालसम्म दुई करोड ४३ लाख रुपैयाँ प्राप्त भएको छ । भुक्तानी लिन पनि बाँकी भएको हुँदा बजेटको कारण रोकिएको होईन ।’
भूकम्पपछि बनेको प्राधिकरण पुनर्निर्माण समिति विघटन भएपछि यस अन्तर्गत रहेका अधुरा कामहरुको विषयमा के गर्ने भन्ने विषयमा छलफल नहुँदा कानूनी रुपमा धेरै समस्याहरु आएको थियो । 
उनले भने, ‘कानूनी रुपमा जटिलता नभएको भने होइन, भूकम्पपछि प्राधिकरण पुनर्निर्माण समिति भनेर गठन भएको थियो, त्यो समितिले उपभोक्ता समितिलाई १० करोडसम्म काम गर्न दिने भन्ने कुरा प्राधिकरण अन्तर्गतको कुरा थियो । २०७८ साल मंसिरको ९ गते प्राधिकरण विघटन भयो । प्राधिकरण विघटन भएपछि यस अन्तर्गत भइरहेका अधुरा कामहरुको विषयमा के गर्ने भन्ने विषयमा छलफल भएन । अब प्रचलित कानुन अनुसार जाने भनेपछि एक करोडभन्दा बढीमा उपभोक्ता समितिले काम गर्न पाउँदैन । तर लगभग ३ करोड ८ लाख ६९ हजार रुपैयाँको सम्झौता छ । त्यसपछि पुरातत्व विभाग, कानुन मन्त्रालय दुवै अन्यौल भएपछि यहाँ थोरै कानूनी रुपमा ढिला हुन गयो ।’ मन्दिरको कार्य सम्पन्न गर्नको लागि दिनरात खट्दा पनि कमिसन लिनलाई ढिला गरिरहेको भन्ने खालको नकारात्मक कुरा समाजमा उठेको भन्दै यसले काम गर्नको लागि समस्या पैदा गरेको शाक्यले गुनासो पनि गरेका छन् ।  उपभोक्ता समितिको साथै ईंटा बनाउने कम्पनीहरुले पनि आजसम्म पैसा नलिएको उनको दाबी छ ।  उनले भने, ‘हालसम्म यो मन्दिरको लागि ईंटा बनाउने कम्पनीले एक रुपैयाँ पैसा मागेको छैन् । उहाँहरुले चाहिने जति ईंटा बनाएर पैसा नमागेको अवस्थामा पनि पैसा लिएर खायो भन्ने आरोप लागेको छ । समितिले अझैसम्म तलब, भत्ता पनि नलिइकन काम गरिरहेको छ ।’ 
पुरातत्व विभागबाट असार १५ गतेसम्मका लागि म्याद थप भएको छ । समितिले चार हात खुट्टा टेकेर भएपनि मच्छिन्द्रनाथको मूर्ति भोटो जात्रा सकेपछि निर्माणाधिन मन्दिरभित्र राख्ने लक्ष्य राखेको अध्यक्ष शाक्यले बताए । 
उनले भने, ‘पुरातत्व विभागबाट यही असारको १५ सम्म म्याद थप भएको छ । हाम्रो लक्ष्य जेठको पहिलो हप्तासम्म सकाउने छ । वैशाख अन्तिम या जेठको पहिलो हप्तासम्म सकिन्छ । यसपटक चार हात खुट्टा टेकेर हुन्छ कि कसरी हुन्छ कुनै पनि हालतमा मच्छिन्द्रनाथको मूर्ति भोटो जात्रा सकेपछि ल्याउने बेलासम्म मन्दिरभित्र राख्ने लक्ष्य छ ।’  मन्दिरको कार्य सम्पन्न हुन नसक्दा रातो मच्छिन्द्रनाथको मूर्तिलाई सानो अस्थायी रुपमा बनाएको मन्दिरमा राख्ने गरिएको छ । यसले गर्दा पूजा गर्ने पूजारी र भक्तजन सबैलाई समस्या भइरहेको छ । सांस्कृतिक सम्पदामा राख्न मिल्ने खालको इतिहास बोकेको मन्दिरलाई यस्तो अवस्था देख्दा नराम्रो लागेको स्थानीय तथा पूजारी मदन शाक्य बताउँछन् ।  उनले देउतालाई अस्थाई मन्दिरमा राखेको छ–सात बर्ष भइसकेको छ तर अब आफ्नै मन्दिरमा राख्ने आशा गरेको पनि बताए । 
उनले भने, ‘समस्या त छ नि । पूजारीहरुलाई पनि समस्या छ । चाँडै सिध्याएर देउता राख्न पाएको भए धेरै राम्रो हुन्थ्यो । देउतालाई अस्थाई मन्दिरमा राखेको छ–सात बर्ष भइसक्यो । आशा गरौ असार मसान्तसम्म काम सकियो भने मन्दिरमा देउता राख्न पाइन्छ कि ।’ मन्दिरमा मंसिर २७ गते क्षमा पुजा गरेर फेरि काम सुरु गरिएको छ । 

Photos-(1)-(5)-1736076239.jpg
 

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार