कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जीबी र रविसहित ३९ विरुद्ध मुद्दा

सोमबार, पुस २२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । काठमाडौं कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दायर भएको छ ।  गोर्खा मिडिया प्रालिको ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट २८ भदौ २०७७ देखि २ फागुन २०८० सम्म चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९५५ को कारोबार गरिएको खुलेको छ । तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने एक्लैले काटेका चेकबाट ४९ करोड १८ लाख ४१ हजार २४६ रुपैयाँको कारोबार भएको थियो । लामिछानेले ‘स्वेट सेयर’ पाएको भन्ने दाबीलाई खण्डित गर्ने कम्पनी रजिस्ट्रार कार्यालयका दस्तावेज पनि अदालतमा पेस भएका छन् । लामिछानेले ‘गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर खरिद गरिपाउँ’ भनी कम्पनीमा निवेदन दिएकामा २०७७ चैत २० मा बसेको सञ्चालक समितिको बैठकले १ लाख ८० हजार थान सेयर रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको दस्तावेजमा स्पष्ट देखिन्छ । लामिछानेले सेयर किन्न आवश्यक रकम पनि ‘भुक्तान गर्न ल्याएकाले’ उनलाई सञ्चालक नियुक्त गरिएको र उनले प्रबन्ध निर्देशकका रूपमा समेत काम गर्दै आएको पुष्टि कागजातबाट हुन्छ । १५ महिनापछि कम्पनी छोडेर हिँड्ने बेला १ असार २०७९ मा लामिछानेले आफ्नो नाममा रहेको सम्पूर्ण सेयर गितेन्द्रबाबु (जीबी) राईलाई बिक्री गरेको र त्यसबापत १ करोड ८० लाख रुपैयाँ नगद बुझिलिएको भर्पाइ कागज गरी सञ्चालक समितिलाई दिएको तथ्यसहितका कम्पनी रजिस्ट्रार कार्यालयमा अभिलिखित दस्तावेज पनि अदालतमा पेस भएका छन् । स्वर्णलक्ष्मीको बैंकिङ सफ्टवेयरसमेत प्रहरीले बरामद गरेको छ । जीसीएस बैंकिङ सफ्टवेयरबाट प्राप्त अभिलेखअनुसार राई र लामिछानेले २०७८ भदौ ४ मा चारपाङ्ग्रे गाडीका लागि १४.७५ प्रतिशत ब्याजदरमा ३२ लाख २१ हजार ६३३ रुपैयाँ लिएका थिए । यस्तै, २०७८ मंसिर १ मा सेभेन सिटर इको–भ्यान किन्न १४.७५ प्रतिशत ब्याजदरमा ४६ लाख ४८ हजार लिएको अभिलेखमा देखिन्छ । निवेदनमा हस्ताक्षरसमेत नगरी, कुनै प्रक्रिया पूरा नगरी जीबी र रविका नाममा रकम निकालिएकामा सहकारीलाई उक्त रकम भुक्तान गर्दा काटिएको चेकमा भने लामिछानेकै हस्ताक्षर छ । राई र लामिछानेले चार पाङ्ग्रे (टोयोटा फर्च्युनर) गाडी किन्न पनि यस्तै प्रकृतिको गैरकानुनी कारोबारबाट ४६ लाख ४८ हजार कर्जा लिएका थिए । सहकारीबाट ल्याएको रकमबाट निकालिएको उक्त गाडी लामिछाने स्वयम्ले प्रयोग गर्दै आएका थिए । ८२ लाख ९७ हजार ६ सय रुपैयाँ लामिछाने आफैंले चेकबाट भुक्तान गरेका थिए । स्वर्णलक्ष्मी सहकारीमा राई र लामिछानेले कारोबार गर्दै आएको खाता नम्बर ००१–००१–०१–००१३६३९ मा हाल २ लाख ४ हजार १२१ रुपैयाँ ६९ पैसा मौज्दात रहेको देखिन्छ । स्वर्णलक्ष्मीका बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको छ । काठमाडौं सरकारी वकिल कार्यालयले राई र लामिछानेलाई संयुक्त रूपमा ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० रुपैयाँ बिगो कायम गरेको छ । जोशीलाई एकल रूपमा ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० बिगो कायम गरी मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयले राईलाई यसबाहेक अरू गैरकानुनी कारोबारमा पनि प्रतिवादी बनाएर बिगो मागदाबी गरेको छ ।
लामिछाने, जोशी र राईसहितका प्रतिवादीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको अभियोगमा हाल कास्की जिल्ला अदालतमा पनि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन छ । उक्त मुद्दामा कास्की अदालतमा थुनछेक बहस चलिरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार