‘एक विद्यार्थी एक बिरुवा’

बुधबार, असार ९, २०७८

स्याङ्जा । फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई फलफूलका बिरुवा बितरण गरेको छ । फलफूलका माध्यमबाट गाउँपालिकालाई नमूना बनाउने ध्येयले  कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रछात्रालाई  बिरुवा दिइएको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले वातावरणीय सचेतना जागृत गर्ने ध्ययेले ‘एक विद्यार्थी एक बिरुवा’  वितरण अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले भने, “अभियानले विद्यार्थीमा अध्ययनका साथसाथै श्रम गर्ने बानिको समेत विकास हुन्छ ।” शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले २३  सामुदायिक विद्यालय र चार संस्थागत विद्यालयका एकहजार ३६५  विद्यार्थीलाई कागतीको बिरुवा वितरण गरिएको जानकारी दिए । उनका अनुसार वितरित बिरुवाको अनुगमन गरी विद्यार्थीको आन्तरिक मूल्याङ्कन समेत गरिने छ ।  सङ्घीय  सरकारले यस  जिल्लालाई ‘कागती जोन‘का रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । सो कार्यक्रमलाई कार्यान्वनमा बिरुवा वितरणले सहयोग पुग्ने विश्वास गरिएको छ । यसै गरी गाउँपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई निः शुल्क पाठ्यपुस्तक वितरण गर्ने अभियानको समेत शुरुआत गरेको छ । गाउँपालिका अध्यक्ष सुवेदीले  काला भैरव माध्यमिक विद्यालय फेदीखोलामा अध्ययनरत विद्यार्थीलाई पाठ्यपुस्तक हस्तान्तरण गरे ।  कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका समयमा विद्यालयमा अनलाइनका माध्यमबाट पठनपाठन गर्ने व्यवस्था मिलाइएको र यसका लागि सबै विद्यालयमा  इन्टरनेटको व्यवस्था गरिदिएको शिक्षा शाखा प्रमुख गुरुङले जानकारी दिए । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयमा सामाजिक दूरी कायम गरेर पठनपाठनको व्यवस्था मिलाउन आग्रह समेत गरिएको छ । साथै  विद्यालयमा  सेनिटाइजर, माक्स र सामुन खरिदको लागि रकम समेत उपलब्ध गराइएको छ । 


 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार