सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा केन्द्रविन्दु रहेको भूकम्पको शक्तिशाली धक्का तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा महसुस गरिएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएपछि काठमाडौंका नागरिकहरू सडकमा निस्किएका थिए । ज्येष्ठ नागरिक, बालबालिका घरबाट बाहिर निस्कन सकेनन् । सातदोबाटो घर भएका कान्छी तामाङले भूकम्पको धक्का महसुस गरे पनि घरबाट बाहिर निस्कन नसकेको बताइन् । उनले भनिन् ‘घुडा को बिरामी झटपट उठेर कहाँ हिड्न सक्नु ।’ कलंकीकी शान्ति माया भूर्तेल पनि दमका रोगी श्रीमानलाई छाडेर बाहिर निस्कन नसकेको बताउँछिन् । उनले भनिन् , ‘ घरभित्र बसेँ, रामनाम जपेर, हल्लाएको देख्दा त धेरै नै जस्तो लागेको थियो, सात मात्रै रहेछ, वैशाख १२ को भन्दा ठूलो लागेको थियो ।’ जाडो मौसम भएकाले कोही उठ्ने तरखर गर्दै थिए भने कोही उठेर दुध, तरकारीको जोहो गर्न बजार निस्केका थिए । अधिकांश स्कूलमा जाडोको बिदा भएकाले विद्यार्थी घरमै थिए । भैसीपाटीको सुधा खतिवडाले आफूहरु झटपट बाहिर निस्केको बताइन् । उनले भनिन्, ‘वृद्ध बाआमालाई घर बाहिर ल्याउन सकिएन, एक जना उहाँहरुलाई कुरेर बस्यौँ ।’ केही कलेजहरु अझै पनि सञ्चालन भइरहेका ती विद्यालयका विद्यार्थी कक्षा बाहिर निस्केका थिए । भूकम्पबाट चीनसहित नेपाल, भारत, बंगलादेश र भूटानसम्मैका नागरिक प्रभावित भएका छन् ।