कास्की अदालतमा रवि लामिछानेका कानुन व्यवसायीको बहस सकियो

मंगलबार, पुस २३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका कानुनी व्यवसायीले कास्की जिल्ला अदालतमा बहस सकेका छन् । मंगलबार वरिष्ठ अधिवक्ताहरू डा. नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बाँस्तोला, अधिवक्ताहरू डा.नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउतले बहस गरेका थिए । रविका तर्फबाट पूर्वमहान्याधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्त, सुरेन्द्र थापामगरसहितका कानुन व्यवसायीले पनि बचाउ बहस गरेका छन् । अधिवक्ता बाँस्तोलाका अनुसार बहसको क्रममा कानुन व्यवसायीहरूले प्रथम दृष्टिमै रविमाथि राजनीतिक पूर्वाग्रहका कारण अभियोग लगाइएको देखिने र उनी निर्दोष रहेको जिकिर गरेका थिए । थुनछेक बहसको क्रममा कानुन व्यवसायीहरूले अनाहकमा रविपत्नी निकिता पौडेललाई पनि जोडिएको र अभियुक्त बनाइएको बताएका थिए । रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने कुनै कारण नरहेको पनि उनीहरूको जिकिर थियो । रविका कानुन व्यवसायीहरूको प्रतिवादी बहस सकिएसँगै अब मीना गुरुङ, कृष्ण गुरुङ र आरती गुरुङका कानुन व्यवसायीले बहस गर्नेछन्। यसअघि सोही प्रकरणमा पक्राउ परेका छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनालका पक्षबाट बहस भइसकेको छ । बाँकी तीन जनाको बहस सकिएपछि न्यायाधीश नितिज राईको इजलासले अभियुक्तहरूलाई पुर्पक्षको लागि जेल पठाउने, उन्मुक्ति दिने वा बाहिरै बसेर मुद्दा लड्ने भन्ने निर्क्योल गर्नेछ । यसैबीच रविको बयान सकिने दिन उनका समर्थकहरूले कास्की जिल्ला अदालतबाहिर प्रदर्शन गरेका थिए । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगन थापाविरुद्ध नाराबाजी पनि गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार