मंगलबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा बैंक खाता खोल्न सकिने

शनिबार, पुस २७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । माघ १ देखि राष्ट्रिय परिचयपत्रको आधारमा बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा यसबारे व्यवस्था गरिएको हो ।  परिपत्रमा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।” सामाजिक सुरक्षा भत्ता लगायत सरकारी भुक्तानीका लागि पनि खाता खोल्न सहज बनाउनेगरी यस्तो कदम चालिएको बताइएको छ । यसअनुसार सरकारले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्न सक्ने छन् । तर, खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान र सम्पुष्टि अनिवार्य रुपमा गर्नुपर्ने राष्ट्र बैंकले निर्देश गरेको छ ।
“नेपाल सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि यस निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्नेछ,” परिपत्रमा उल्लेख छ । त्यस्तै ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण निज ग्राहककै रहे नरहेको सुनिश्चित गर्न निहित जोखिमका आधारमा बैंक तथा वित्तीय संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नुपर्ने बताइएको छ । त्यसैगरी २०८१ माघ १ सम्ममा बैंक तथा वित्तीय संस्थाले सबै उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने भनिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार