भैंसीको विधिवत् अन्त्येष्टि

सोमबार, पुस २९, २०८१
मयुर प्लाई
Global Ime Bank

एउटा मृतक भैसीको विधिवत् रुपमा अन्त्येष्टि गरिएको छ भन्ने समाचार सुन्दा तपाईं अचम्म लाग्न सक्छ । तर, ललितपुरमा एउटा भैँसीको विधिवत् रुपमा अन्त्येष्टि गरिएको छ । यसरी पशुलाई भावपूर्ण बिदाइ गरिएको यो विरलै घटना हो । उक्त भैंसी ललितपुरस्थित स्नेहाज केयर सेन्टरमा राखिएको थियो ।  यो भैंसीको कथा वास्तवमै हृदयविदारक छ । केही वर्षअघि उनलाई मासुको लागि बधशालामा पुर्‍याइएको थियो । बधशालामा उनको टाउकोमा घन प्रहार गरियो । त्यसको तोडले भैँसी रन्थनिएर भाग्न खोज्यो । भाग्दै–भाग्दै एउटा विद्यालयभित्र पसेर लुक्यो । भाग्दै गर्दा भैँसीले मान्छे र गाडीलाई समेत क्षति पुर्‍याएको थियो । त्यतिबेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन विभागका कर्मचारी भेला भए । उक्त भेलाले भैँसीलाई समात्ने र मार्नेसम्मको योजना बनायो । त्यतिबेला पशु अधिकारकर्मी त्यहाँ पुगे । उनीहरूले भैंसीलाई मार्ने होइन, बचाउनुपर्छ भन्दै पशु अधिकारकर्मी स्नेहा श्रेष्ठले संचालन गरेको स्नेहाज केयर्समा पुर्याए । त्यतिबेला भैँसीको सिङ र आँखाबाट रगत चुहिएको थियो । भैंसी दर्दनाक अवस्थामा थियो । शरीरमा घनको डोब थियो । सिङ भाँचिएको थियो । स्नेहाज केयर्समा ल्याएर उपचार र स्याहारसुसार गर्दै गर्दा भैँसी ब्याउने रहेको कुरा थाहा भयो । केही महिनामा पाडोलाई जन्म दिइन्  त्यसलाई ‘मैचा’ नाम दिइयो । मैचा नेवारी नाम हो, जुन प्रेमपूर्वक मैया भनेर सम्बोधन गरे जस्तै हो । भैँसीको दुई वटा थुनबाट मात्र दूध आउने रहेछ । ‘दूध कम्ती दिने भएकाले उसलाई मासुको लागि बेचिएको रहेछ’ स्नेहा श्रेष्ठले भनिन्, ‘जबकि बधशालामा पुर्‍याउँदा उसको पेटमा दुई महिनाको गर्भ रहेछ ।’ सेल्टरमा ल्याएपछि उनीहरुले भैँसीको नाम मायाकुमारी राखे । सुरु सुरुमा भैंसी डराउने र आक्रमण गर्ने खालको थियो ।  स्नेहाज केयर्समा ल्याएपछि भैँसीको त्यो स्वभाव हट्यो । यसपालिको गाईतिहारमा उसलाई पनि पूजा गरिएको थियो । उपचार र रेखदेख गरेपनि शिथिल भएको भैँसी विस्तारै हिंड्न र उठ्न नसक्ने भयो । ‘हामीले धेरै उपचार गर्‍यौं’ श्रेष्ठले भनिन्, ‘तर, बचाउन सकिएन ।’ एउटा अबोध र मायालु प्राणी गुमाउनुपर्दा निकै दुःख लागेको उनले बताइन् । श्रेष्ठले मायाकुमारीको नाममा शोक व्यक्त गर्दै फेसबुकमा लेखेकी छिन् — ‘पीडा र वेदना बोकेर भौंतारिरहेकी तिमीलाई भाग्यले भेट्यौं । तिम्रो दुःख–सुखको साथी बन्यौं । प्रिय मायाकुमारी, तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक हामीसँग कुनै विकल्प छैन ।’ स्नेहा श्रेष्ठ अगाडि लेख्छिन् – ‘बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृत्युको बज्र टाउकोमा बज्रिंदा पनि पेटको सन्तानका लागि मृत्यु जित्न सक्ने तिम्रो मातृशक्तिको गाथा सायदैले बयान गर्न सक्ला !’

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार