महालक्ष्मी नगरपालिका ९ नं. वडाद्धारा ५ सय ज्येष्ठ नागरिकलाई सम्मान (भिडियो)

सोमबार, पुस २९, २०८१
मयुर प्लाई
Global Ime Bank

लामाटार (ललितपुर) । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्वर ९ ले ६८ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई गत शनिबार एक भब्य कार्यक्रम गरी सम्मान गरेको छ । १ सय १ वर्षकी कान्छि भुजेललाई नगर प्रमुख हरिगोविन्द श्रेष्ठ तथा ९ नं. वडाका वडाअध्यक्ष जयकृष्ण बोगटीले सम्मान गरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको सुरुवात गरिएको हो ।  कार्यक्रममा ५०० जना ज्येष्ठ नागरिकहरूलाई ब्लाङ्केट, खाजा र नगद ५ सय रुपैयाँसहित सम्मान गरिएको छ । वडासदस्य शशिधर पोखरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष जयकृष्ण बोगटीले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिसहितका सहभागीहरुलाई वडासचिव नारायणकुमार श्रेष्ठले स्वागत गर्नु भएको थियो ।  कार्यक्रममा कार्यपालिका सदस्य सरिता पोखरेल र बेलि सुर्खेतीले प्रमुख अतिथिसहितका अतिथिहरूलाई खादा, मालाले स्वागत गर्नु भएको थियो । यो कार्यमा कार्यपालिका सदस्य कुमार बयालकोटी तथा वडा सदस्य रामकेशर थापाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा ठूलो संख्यामा ज्येष्ठ नागरिक, वडाका सुभेच्छुक, वडा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिका ज्येष्ठ नागरिकको सम्मानमा गम्भिर भएर लागेको बताउँदै नागरिकहरूको स्वास्थ्य र दिर्घायुका लागि मेयर स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रमका सभापति वडा नम्बर ९ का अध्यक्ष जयकृष्ण बोगटीले महालक्ष्मी नगरपालिका ९ नं वडा ज्येष्ठ नागरिकको सम्मानमा अग्रणी  रहेको बताउनुभयो ।  गत वर्षदेखि ज्येष्ठ नागरिकहरुलाई वडाले सम्मान गर्न थालेको जनाउँदै वडाअध्यक्ष बोगटीले गत वर्ष नै ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन गराएको स्मरण गराउनुभयो । ‘यो वर्ष पनि तीर्थाटन गराउने अर्को कार्यक्रम छ । वडा कार्यालय सूचना निकेका बेला समयमै आफ्नो नामावली वडा कार्यालयमा टिपाउन अनुरोध गर्दछु’, उहाँले ज्येष्ठ नागरिकहरूको माझमा भन्नुभयो । जेष्ठ नागरिकको स्वास्थ्य विशेष ध्यान दिएर सम्मान कार्यक्रमका साथै स्वास्थ्य चेक जाँचको कार्यक्रम राखिएको पनि उहाँले बताउनुभयो । वृद्द भत्ता सहज वितरणका लागि वडा कार्यालय क्षेत्र तोकेर वितरणको थालनी गर्न लागेको पनि उहाँले बताउनु भयो ।  वडका ५ सय  जनाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि नाम टिपाएकोमा शनिबार ३ सय ५० जना सम्मान गरिएको छ । सम्मान लिन बाँकी रहेका ज्येष्ठ नागरिकलाई घरमै गएर सम्मान गरिने अध्यक्ष बोगटीले शब्दपाटीलाई बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार