सोसल मिडिया
Contact Us
युनिकोड
मंगलबजार (ललितपुर) । राष्ट्रिय योग दिवसको सन्दर्भ पारेर ललितपुर महानगरपालिका १६ नं. वडाले पतञ्जली योग समिति बागमती प्रदेशसँगको सहकार्यमा आज शनिबार पाटन दरबार क्षेत्रमा ‘योग उत्सव समारोह’ आयोजना गरेको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथि बनाएर ती दुई निकायले ठूलो संख्यामा योग साधक साधिका भेला पारेर एक भव्य कार्यक्रम सम्पन्न गरेका हुन् ।
‘योग उत्सव समारोह’ नाम दिएर बिहान ८ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा ललितपुर क्षेत्र नं. १ का सांसद उदय शम्शेर राणा, क्षेत्र नं. २ का सांसद प्रेम महर्जन, नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, ललितपुर महानगरपाकिा वडा नं ९ का वडाअध्यक्ष राजु महर्जन, वडा नं. २६ का वडाअध्यक्ष सुरेश महर्जनसहित योग गुरु, योग शिक्षक, सह-योग शिक्षकसहित योगका साधक साधिकाहरुको उपस्थिति रहेको थियो ।
‘योग उत्सव समारोह’ को औपचारिक कार्यक्रम सुरु हुनु पूर्व योग अभ्यास पनि गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. यादवले योगमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्नु भएको थियो । पूर्व राष्ट्रपति डा. यादवकै समुपस्थितिमा योग साधक साधिकाले योगका कलात्मक प्रस्तुति दिएका थिए । समारोहमा राष्ट्रिय योग दिवसका अवसरमा पाटन दरबार क्षेत्रमै आयोजना गरिएको १०८ सूर्य नमस्कारमा सहभागी योग साधक साधिकालाई सम्मान पनि गरिएको छ । यस्तै १६ नं. वडामा सञ्चालन भएको सह–योग शिक्षक ताालिमका सहभागी सह योग शिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । योग उत्सव समारोहका प्रमुख अतिथि डा. यादवले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने पनि बताउनु भएको छ । योग उत्सव समारोहमा डा. यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
'ऐतिहासिक पाटनमा भएको योग साधनाको कार्यक्रम महत्त्वपूर्ण छ, पाटनको आफ्नै महत्त्व गरिमा पनि छ,' उहाँले भन्नुभयो, 'विसं २०४६ र विसं २०६२-६२ को परिवर्तनमा अगुवाइ गरेको पाटन ओझेलमा परेको छ, योग साधनको माध्यमबाट समाजलाई रूपान्तरण गर्न यो ठाउँले उत्कृष्ट कार्यहरू गर्न सक्नुपर्छ ।'
यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,'स्वस्थ्य समाज निर्माणका लागि मानिस स्वस्थ्य हुनुपर्छ, योग साधना स्वस्थ्य जीवनका लागि महत्त्वपूर्ण छ, स्वास्थ्य जीवनबिना देश अगाडि बढ्न सक्दैन, त्यसकारण सबै वडामा योग साधनको विस्तार होस् ।' कार्यक्रममा ललितपुर महानगर १६ नं. वडाका वडाअध्यक्ष निर्मल रत्न शाक्यले योगले शरीर स्वस्थ्य हुने बताउँदै स्थानीय तहहरुले योगका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । पतञ्जली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले योगको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो ।