सोसल मिडिया
Contact Us
युनिकोड
ज्यागटा(ललितपुर) । ललितपुरको महालक्ष्मी नगरपालिका वडा न. ९ ज्यागटामा दोनाल गणेश मन्दिर निर्माण गरिएको छ । दोनाल गणेशको पुरानो मन्दिर रहेकै स्थलमा नयाँ मन्दिर निर्माण गरी आज शनिबार प्राण प्रतिष्ठा पनि गरिएको छ । महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले गणेशको मूर्ति प्राण प्रतिष्ठासहित मन्दिरको उद्घाटन गर्नु भएको छ ।
मन्दिरका लागि जग्गा दान गर्ने बोगटी परिवारलाई धन्यवाद दिँदै नगर प्रमुख श्रेष्ठले गीता बोगटीलाई मन्दिर निर्माणका लागि जग्गा प्रदान गरी पुन्य काम गरेको बताउँदै भविष्यमा पनि यस्ता सामाजिक कार्य गर्ने इच्छा जागृत भइरहोस् भन्दै महालक्ष्मी नगरपालिकाले सम्मान गर्ने बताउनुभयो । मन्दिर निर्माणका लागि स्व. भैरवबहादुर बोगटी र श्रीमती गीता बोगटीले ३ आना २ पैसा निजी जग्गा प्रदान गर्नु भएको हो । दोनाल गणेशको मन्दिर स्थापनाका लागि जग्गा दान गर्ने बुबाको इच्छा अनुसार निजी जग्गा प्रदान गरी मन्दिर निर्माण गरिएको वडाअध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो ।
वडाले चालु आर्थिक वर्ष २०८१ ०८२ को वडा स्तरीय बजेटबाट १० लाख विनियोजन गरी मन्दिर निर्माण कार्य सम्पन्न भएको पनि वडाअध्यक्ष बोगटीले जानकारी दिनुभयो । मन्दिरमा नियमित पूजासहितको कार्यका लागि वडा कार्यालयले चालु आ.वा. मा ५० हजार रुपैयाँ छुट्याएको जनाउँदै वडाअध्यक्ष बोगटीले भन्नुभयो, मन्दिर निर्माण भएपछि पूजाआजा, भजन कीर्तनसहितका कार्य गर्न सहज हुनेछ ।
जग्गा दान गर्ने भैरवबहादुर बोगटीका छोरा वडानम्वर ९ का अध्यक्ष जयकृष्ण बोगटीले पारिवारिक सल्लाह अनुसार जग्गा मदिरको नाममा अर्पण गरेको जनाउँदै मन्दिर निर्माणपछि आफू निकै खुशी भएको बताउनुभयो । मन्दिर निर्माणमा सहयोग गर्ने उपभोक्ता समिति र संरक्षण समितिलाई धन्यवाद दिँदै अध्यक्ष बोगटीले मन्दिर निर्माणले धार्मिक कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्दिर निर्माणपछि पुजापाठ र भजनकीर्तन गर्नुका साथैं वृद्दवृद्दाको दुखसुख साट्थे थलो बन्ने उहाँले विश्वास लिनु भएको छ । मन्दिर उद्घाटनसहित प्राण प्रतिष्ठा गर्ने समारोहमा स्थानीयहरुको सक्रिय उपस्थिति रहेको थियो । त्यस क्रममा महिलाहरुले भजन कीर्तनमा नाचगान पनि गरेका थिए ।
मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठामा लागि आयोजित समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद मदनबहादुर अमात्य, नेकपा एमालेका नेता बाबुकाजी प्रधानसहितका स्थानीयको उपस्थिति रहेको थियो । मन्दिर उद्घाटन समारोहमा महालक्ष्मी नगरपालिका कार्यपालिका सदस्य सरिता पोखरेल, कुमार वयलकोटी, वडा सदस्य शशीधर पोखरेल, वडा सदस्य रामकेशर थापा, वडासचिव नारायणकुमार श्रेष्ठको पनि उपस्थिति रहेको थियो । यस्तै समारोहमा महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष कपिल केसी, वडा नंं. ७ का वडाअध्यक्ष बाबुराजा महर्जन, वडा नं. ८ का वडाअध्यक्ष विश्वराज श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।