सोसल मिडिया
Contact Us
युनिकोड
हरिसिद्धि (ललितपुर) । खानेपानी मन्त्री प्रदीप यादवलाई ललितपुर महानगरपालिका २८ नं. कार्यालयमा बोलाएर वडाअध्यक्ष वीरेन्द्र महर्जनले वडावासीले भोगिरहेको खानेपानी समस्याबारे अवगत गराउनु भएको छ । सोही क्रममा खानेपानी मन्त्री यादवलाई २९ नं वडाका वडाअध्यक्ष गणेशकुमार महर्जनले पनि आफ्ना वडावासीको खानेपानी समस्याबारेमा अवगत गराउनु भएको छ । ललिपतुर महानगर २८ नं. वडाका वडाअध्यक्ष वीरेन्द्र महर्जनले खानेपानीमन्त्री यादवलाई आफ्नो कार्यालयमा बोलाएर वडावासीले भोगिरहेको खानेपानी समस्याबारे अवगत गराएको जानकारी दिनुभयो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बाट वितरण गरिँदै आएको मेलम्चीको पानी ललितपुर महानगर वडा नं. १५ को कर्मनाशा पुलसम्म पाइप विस्तार भई वितरण हुँदै आए पनि १५ नं. वडाको छिमेकी वडाहरु २८ र २९ हरिसिद्धिमा खानेपानीको समस्या भएकोले कर्मनाशा पुलदेखि वडा नं २८ र २९ हरिसिद्धिमा मेलम्ची खानेपानी वितरणका लागि आवश्यक सर्भे गरी मेलम्ची खानेपानी वितरणको वातावरण बनाउन आग्रह गरिएको वडाअध्यक्ष महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो । गोदावरी मुहान र ग्यालिन दहबाट ल्याइएको पानी उपभोक्ता समितिमार्फत वितरण भइरहे पनि बस्ती विकाससँगै खानेपानीको माग उच्च रहेकोले ती मुहानको पानी वितरणलाई व्यवस्थित गर्न कठिनाई भएपछि मन्त्री यादवलाई कार्यालयमै बोलाएर आफूहरुले भोगि रहेको समस्या अवगत गराएको वडाअध्यक्ष महर्जनले बताउनु भयो । आफूहरुले पटक पटक सिंहदरबारमा गएर खानेपानी समस्याबारे अवगत गराउँदा मन्त्री ज्यूले वडा कार्यालयमै आएर समस्याबारे बुझ्छु भन्नु भएको थियो मन्त्रीको सोही प्रतिवद्धता अनुसार वडा कार्यालय आउनु भएको हो वडाअध्यक्ष महर्जनले भन्नुभयो, संघीय सरकारको मन्त्री वडा कार्यालय सम्म आएर हाम्रो समस्यालाई गम्भीरता पूर्वक लिइ दिनु भएकोमा धन्यवाद दिन चाहन्छौं । हामी स्थानीय तहका जनप्रतिनिधिहरुलाई खानेपानी समस्या लिएर वडावासी दिनहुँजसो डेलिगेसन आउनु हुन्छ वडाअध्यक्ष महर्जनले भन्नुभयो, मेलम्चीको पानी वितरणको प्रबन्ध गर्न सकिए यो समस्या हल हुने हाम्रो बुझाइ छ । महानगरका दुईवटा वडाका जनप्रतिनिधिसँगको भेटमा खानेपानी मन्त्री यादवले आफू मातहतका निकायहरुलाई हरिसिद्धिमा खानेपानी वितरणका लागि आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिने प्रतिवद्धता जनाउनु भएको छ । मन्त्री यादवलाई २८ नं. वडा कार्यालयमा वडाअध्यक्ष वीरेन्द्र महर्जन, २९ नं. वडाका वडाअध्यक्ष गणेशकुमार महर्जन, कार्यपालिका सदस्य एवम् वडासदस्य शरणलक्ष्मी महर्जन, जीवन महर्जन, सिद्धिराम महर्जनले स्वागत गर्नु भएको थियो । वडासचिव अरुण गोतामेसहित वडाका कर्मचाारीहरुले पनि खानेपानी मन्त्री यादवलाई स्वागत गर्नु भएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बाट वितरण गरिँदै आएको मेलम्चीको पानी ललितपुर महानगर वडा नं. १५ को कर्मनाशा पुलसम्म वितरण हुँदै आए पनि २८ र २९ वडाहरु हरिसिद्धिमा खानेपानीको समस्या भएकोले हरिसिद्धिमा मेलम्ची खानेपानी पानी वितरणका लागि आवश्यक सर्भे गरी वितरणको वातावरण मिलाउन खानेपानी मन्त्रालय सिंहदरबारलाई २८ नं. वडाका वडाअध्यक्ष वीरेन्द्र महर्जन तथा २९ नं. वडाका वडाअध्यक्ष गणेशकुमार महर्जन २०८१ भदौ १८ गते मेलम्ची खानेपानी उपलव्ध गराइ दिने बेहोरा उल्लेख गरी संयुक्त पत्र लेख्नु भएको थियो ।