सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले श्री लालीगुँरास डेरी एण्ड रिसर्च सेन्टरको नाममा रहेको १७ विगाहा जग्गा र २ सय ६४ गाई र १६ वटा बाच्छाबाच्छी कौडीको भाउमा दिएको छ । संस्थाको नाममा रहेको जग्गा, भौतिक संरचना र गाई तथा सोको बाच्छाबाच्छी एस.एन एग्री विजनेश प्रा. लि.लाई ७ लाख भाडामा सुम्पिएको हो । यद्यपी सोही संस्थाले समितिलाई मासिक १४ लाख रुपैयाँ भाडा तिर्ने सर्तमा जिम्मा लिन पत्राचार गरेको थियो । प्रा. लि. को तर्फबाट निवेदक शिव कार्कीले मासिक १४ लाख भुक्तानी गरी कर्मचारी तलबलगायत अन्य दायित्वहरु भुक्तानी गर्न ३ हप्ताभित्र १ करोड रुपैयाँ पेस्की र तत्काल समस्या समाधान गर्न सम्झौता भएको मितिमा २४ लाख रुपैयाँ भुक्तानी गरी भाडामा गाई फार्म सञ्चालन गर्ने उल्लेख थियो । दुई संस्थाबीच बिहीबार सम्झौता भएको थियो । त्यसको अघिल्लो दिन अर्थात माघ २ गते प्रा.लि. ले फरक प्रस्ताब पेश गरेको थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चलखेल गरी सोही कम्पनीलाई मासिक ७ लाख भाडा र १ करोड २४ लाख रुपैयाँमा सबै गाई र त्यसले जन्माएको बाच्छाबाच्छी बिक्रि गरेको छ । समितिले बिहीबार फार्मको कार्यालयमा व्यापारीलाई बोलाएर सम्झौता गरेको थियो । मासिक १४ लाख भाडा आउने पक्का भएको जग्गालाई ७ लाख र हाल लालीगुँरास सहकारीकै नाममा गाई र बाच्छाबाच्छी रहने गरी १ करोड रुपैयाँ दिने प्रस्ताव गरेको थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सबै गाई र बाच्छाबाच्छी १ करोड २४ लाख रुपैयाँमा बिक्री ग¥यो । स्रोतका अनुसार समितिकातर्फबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेल, सदस्यहरु काशीचन्द्र बराल, ध्रुव आचार्य र प्रहरी सहायक निरीक्षक विकास कटुवालको उपस्थिति रहेको थियो भने व्यापारीको तर्फबाट शिवबहादुर कार्कीको उपपस्थिति रहेको थियो । लिजमा दिएको जग्गामध्ये सहकारीको स्वामित्वमा १० र प्रिसा इन्भेष्टमेन्ट कम्पनीको स्वामित्वमा ७ बिगाहा जग्गा रहेको छ । तर सम्झौता गर्दा सबै जग्गा त्यहाँ रहेको उपकरण, संरचना र सवारी साधन प्रा.लि.लाई सुम्पेको छ । सरकारले गएको वर्ष फागुन १९ गते समस्याग्रस्त घोषणा गरेको लालीगुँरास बहुउद्धेश्यीय सहकारी संस्थाको स्वमित्वमा रहेको गाई फार्म व्यवस्थित रुपमा सञ्चालन भैरहेको थियो । समितिले समस्याग्रस्त संस्थालाई एउटा कम्पनीले उल्लेख गरेको रकम भन्दा कममा आर्थिक चलखेल गरी सबै गाई बेचेर बाँकी सम्पत्ती कौडीको भाउमा लिजमा दिएको स्रोतका भनाई छ । समितिले समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न ऋणीसँग ऋण उठाउनु भन्दा भएको सम्पत्ती मनपरी मूल्याङकन गरी सस्तोमा बिक्री गर्न अग्रसर थालेको आरोप लागेको छ । त्यसको शिकार लालीगुँराको स्वामित्वमा रहेको गाई फार्म भएको छ । खरिद गर्ने वा लिजमा लिनेले दिएको मूल्याङकन भन्दा समस्याग्रस्त समितिका सदस्यले मनपरी भाउ उल्लेख गरेर लिजमा गएको विषय गम्भीर रहेको छ । यसै तरिकाबाट कौडीको भाउमा सम्पत्ती बेचविखन गर्ने हो भने सम्पूर्ण वचतकर्ताको पैसा फिर्ता पाउनेमा समेत अनिश्चितता देखिन्छ । समितिले सहकारी ऐन, २०७४ को रा १०५ बमोजिम सम्पत्ती ब्यवस्थापन तथा दायित्व भुक्तानीको लागि उल्लेख गरेको रकम बिहीबार उपलब्ध गराउन निर्देशन दिएको थियो । समितिले एकै दिनमा हतारमा सम्झौता गरी संस्थामा आएको प्रस्ताबना भन्दा कम कौडीको मूल्यमा लिजमा दिँदा करिब २२ हजार शेयर सदस्यको रकम उठ्ने विषयमा शंका उब्जेको हो । सम्झौतामा पहिलो अर्थात समितिको पक्षबाट मूल्याङकन भएको २ सय ६४ वटा गाई १६ वटा बाच्छावाच्छीको मूल्याङकित र एक करोड पच्चिस लाख पैतालिस हजार पाँच सय रुपैयाँमा दिनुपर्ने उल्लेख छ । गाई फर्म रहेका संरचना, जग्गा जमिन, उपकरण, कम्प्युटर, मेसिनहरु फर्मबाट पेश भएका विवरण अनुसारको नियमित मर्मत संम्भार रेखदेख गर्नुपर्ने दायित्व दोस्रो पक्षको हुनेछ र संरचनात्मक उपकरणहरुको टुटफुट नोक्सानी भएमा दोस्रो पक्षले बेहोर्नुपर्ने, नेपाल सरकारलाई बुझाउनुपर्ने कर दायित्व दोस्रो पक्षले बुझाउनुपर्ने छ । समितिले करोडौ रुपैयाँ खर्च गरेर खरिद गरेको गाई फार्म कम्पनीलाई जिम्मा दिएको छ । सम्झौतापत्रमा दोस्रो पक्षले गाईहरुको मूल्याङकित रकम जम्मा गरी जिम्मा लिने, गाईको स्वामित्व बेचविखन सबै गर्न पाउने र प्रथम पक्षले २६४ गाई तथा बाच्छाबाच्छीको हकमा सम्झौता गरी लिई सकेपछि कुनै जिम्बारीमा नरहेने लेखिएको छ । समितिले सम्झौता गर्दा १० प्रतिशत भाडा सम्झौताको मितिदेखि २ दुई वर्ष पछि वृद्धि हुने, दोस्रोपक्षले पहिलोपक्षबाट निर्णय नहुन्जेल सम्मको लागि संस्थामा रहेका संरचना, जमिन, उपकरण, सवारी साधन प्रयोग गर्न पाउने उल्लेख छ । यस्तो छ सम्झौतापत्र