सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । राष्ट्रिय बौद्धिक केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको राष्ट्रिय सुरक्षा सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको बताएका छन् । खुला सिमानाका कारण नेपालीहरु आफ्नै देशमा असुरक्षित रहेको भन्दै त्यस तर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘भारतसँग खुला सिमाना छ भनेर गर्व गरिन्छ । विशेष व्यवस्था पनि हो यो । हाम्रो अवस्था चाहीं कस्तो छ भने सुरक्षा भन्ने चिज नै छैन् । प्रष्ट के छ भने नेपालमा कति विदेशी बस्छन्, कहिलेदेखि बसेका छन् , सरकारलाई केही अत्तोपत्तो छैन् ।’ यस्तै उनले सरकारले नागरिकको सुरक्षालाई भन्दा पनि पर्यटन विकासको बारेमा मात्र सोचेको भन्दै पर्यटन ठूलो कि देश ठूलो भन्दै प्रश्न गरे । दक्षिणतिरको सिमाना जबसम्म खुला रहन्छ तबसम्म नेपाली स्वतन्त्र नहुने उनको भनाई छ ।
नेपाली कांंग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले सरकारले नागरिकलाई सुरक्षा दिन नसकेको दुख व्यक्त गरे । शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुपर्ने सरकार नातावाद र कृपावादमा रुमल्लिएको अरोप लगाए । पछिल्लो समय नैतिकता र राष्ट्रप्रतिको इमानदारिता कसैसँग पनि नभएको बताउँदै यसतर्फ सबैका ध्यान जानुपर्ने धारणा राखे । नेकपा एमालेका केन्द्रीय सदस्य बाबुराम थापाले राष्ट्रिय सुरक्षालाई सबैले प्राथमिकतामा राख्नु पर्ने बताए । राष्ट्रिय सुरक्षा र स्वतन्त्रताबीच नजिकको सम्बन्ध रहेको उनले बताए । स्वाभिमानी र स्वाधिन भए बाँच्नका लागि राष्ट्रिय सुरक्षा अत्यावश्यक भएको धारणा उनले राखे । सिमा सुरक्षासँगसँगै मुलुकभित्र रहेका सिमा स्तम्भहरुको बारेमा समेत छलफल गर्नु आवश्यक भएको बताए । नेकपा एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्यले शान्ति, सुरक्षा र अमनचयन कायम गर्न लाग्नुपर्ने बताए । राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राखेर सिमालाई व्यवस्थित गर्न तर्फ लाग्नुपर्ने धारणा राखे । सिमाविद् तोयानाथ बरालले सिमालाई व्यवस्थित गर्दै राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । राष्ट्रिय बौद्धिक केन्द्रका अध्यक्ष पवन श्रीवास्तवले सेना र प्रहरीको मात्रै मुलुकको सुरक्षा गर्ने जिम्मेवारी नभएको बताउँदै कृषक, उद्यमी र कर्मचारी समेत राष्ट्रको सुरक्षाकर्मी भएको प्रष्ट पारे । जुन राष्ट्रले आफ्नो सुरक्षा व्यवस्थालाई स्वयं काम गर्न सक्दैन त्यो राष्ट्र लामो समय स्वतन्त्र नरहने दाबी गरे । श्रीवास्तवले केन्द्र राष्ट्र र राष्ट्रियताप्रति संवेदनशील भएको बताउँदै स्वतन्त्र रुपमा क्रियाशील संस्था भएको स्पष्ट पारे ।