सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिकाले ७२ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कुष्ठरोग निवारणको क्षेत्रमा काम गरिरहेको संस्था निकास सहकार्यसँग सहकार्य गरि उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । प्रत्येक वर्ष जनवरी २६ तारिखका दिन कुष्ठरोग दिवस मनाइन्छ । यो वर्ष जनवरी २६ आइतबार परेको छ । कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले अझै पनि कुष्ठरोगप्रति गलत धारणा भएको बताउँदै त्यसलाई चिर्न सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरे । दिवसको दिन मात्रै रोगबारे छलफल गर्नु र सचेतनाको कुरा गर्नु व्यर्थ भएको बताउँदै प्रत्येक दिन रोगका विरुद्ध चेतना जगाउन लाग्नु पर्ने बताए । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले कुष्ठ रोगको बारेमा सामाजिक मूल्य र मान्यता संवेदनशील भएको बताए । अझै पनि यो रोगको बारेमा नकारात्मक धारणा यथावत रहेकोमा दुख व्यक्त गर्दै यो रोगको स्क्रिनिङ र सचेतनाका लागि निकास सहकार्यसँग गोदावरी नगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।
सामाजिक विकास समितिका संयोजक एवम् वडा नं.१०का वडा अध्यक्ष शेखर न्यौपानेले गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै भने, ‘हामी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, यो अवस्थामा कुष्ठरोग छुट्नु हुँदैन । ’ गोदावरी नगरपालिकाको प्रत्येक स्वास्थ्य चौकीमा कुष्ठरोग सँग सम्बन्धित कार्यक्रम संचालन गर्नुपर्ने धारणा राखे । कुष्ठरोग र कुष्ठरोगीप्रति सामाजिक धारणा अझै पनि गलत रहेको बताउँदै नेपालको कानुन पनि विभेदपूर्ण रहेको बताए । महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाका डा.रविन्द्र बाँस्कोटाले कुष्ठरोगको बारेमा तीनै तहको सरकारलाई चासो र चिन्ता हुनुपर्ने बताए । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएको बताउँदै कुष्ठ रोगका बारेमा गोदावरी नगरपालिकाले लिएको चासो र चिन्ताको प्रशंसा गरे । गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रेवती राज कार्कीले कुष्ठरोगका बारेमा अन्य रोगमा जस्तै सचेतना र स्क्रिनिङ आवश्यक भएको बताए ।
गोदावरी नगरपालिकाले यस सम्बन्धमा छिट्टै निर्णय गर्ने जानकारी दिए । कार्यक्रममा निकास सहकार्यका सचिव तथा आनन्दवन अस्पतालमा कुष्ठरोगको सैद्धान्तिक र व्यवहारज्ञान हासिल गरी हाल अस्पतालबाट निवृत्त भएका गोपालहरि पोखरेलका अनुसार चालु आर्थिक वर्षमा दुई हजार सात सय ६ जनामा कुष्ठरोग देखिएको छ । ती मध्ये बालबालिकाको संख्या धेरै छ । सन् २०१०मा प्रति १० हजार जनसंख्यामा ०दशमलव ७७ कुष्ठरोगीको बिरामी देखिन्थे । एक जना भन्दा कम बिरामी संख्या हुँदा त्यसलाई रोग निवारण भएको मानिन्छ । तर अहिले यो बढेर शून्य दशमलव ९२ पुगेको छ । छालामा रातो र फुस्रो रंङको दाग आएका, अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा, आँखीभैं झरेमा वा पातलो भएमा, अनुहार वा शरीरको अन्य भागमा गिर्खा देखा परेमा कुष्ठ रोगको लक्षण हुन सक्छ । पोखरेलले भने, ‘ यो रोगले व्यक्तिको मृत्यु हुँदैन, व्यक्तिमा अपाङगता हुन्छ, जीवनकष्टकर हुन्छ । ’ अझै पनि १८ वटा जिल्ला कुष्ठरोगीका बिरामीबाट प्रभावित छन् । कपिलबस्तु, नवलपरासी, बाँके, कैलाली, सर्लाही, धनुषा, बारा, पर्सा, मोरङ, रुपन्देही, सिराहा, झापा, रौतहत ,अछाम ,महोत्तरी ,नवलपुर, लम्जुङ, रुकुम पश्चिम रहेका छन् ।