सोसल मिडिया
Contact Us
युनिकोड
हात्तिबन (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा धापाखेलको तल्लो बेल्टमा रहेकोको ऐरावत टोल सुधार समितिले आफ्नो २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार हात्तिवनमा एक भव्य कार्यक्रमको आयोजना गरी समितिले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वि.सं. २०५८ सालमा साविक धापाखेल गाविसको तल्लो बेल्टमा बसोबास गर्ने टोलबासीहरूले यो क्षेत्रको विकास निर्माणमा संस्थागत पहल गर्नका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत दर्ता गरी सञ्चालनमा आएको यो संस्था हाल ललितपुर महानगर २३ नं. वडामा रहेका टोल सुधार समितिमध्ये सबैभन्दा बृहत् र व्यवस्थिति मानिन्छ । यो समितिले पूर्वाधार निर्माण, सामाजिक सेवासहितका क्षेत्रमा वडा कार्यालयसँगको सहकार्यमा धेरै काम गर्दै आएको छ ।
वार्षिक साधारणसभाको वडाअध्यक्ष जीवन महर्जनले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । वडाअध्यक्ष महर्जनलाई वडा नं २३ का वडासदस्य राजनमल्ल ठकुरीको पनि साथ दिनु भएको थियो । २२ औं वार्षिक साधारण सभाका प्रमुख अतिथ वडाअध्यक्ष जीवन महर्जनले वडाले सार्वजनिक जग्गा खोजी तथा संरक्षण कार्यलाई उच्च प्राथमिकता दिँदै आएको बताउँदै आगामी दिनमा पनि वडा कार्यालय र ऐरावत टोल सुधार समितिसहित स्थानीयसँग मिलेर सार्वजनिक जग्गा खोजी तथा संरक्षण कार्यलाई अघि बढाइने बताउनुभयो । ‘सिटी स्केपले पखाल लगाएको क्षेत्र नापजाँच गर्दा ५ आना जग्गा फेला परेको छ’, वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘अर्काे हाउजिङमा नापजाँच गर्दा झण्डै १२ आना जग्गा फेला परेको छ । यी जग्गालाई पार्क तथा आवश्यकता अनुसार पूर्वाधारका योजना बनाउने वडा कार्यालयको योजना छ ।’
गत असोज दोस्रो साता आएको अबिरल वर्षापछिको बाढीले यो टोललाई निक्यै प्रभावित पारेको जनाउँदै वडाअध्यक्ष महर्जनले भन्नुभयो, ‘यो टोललाई बाढीबाट जोगाउन तत्काल सिटी स्केपको पर्खाल भत्काएर पानीको निकास गरिएको थियो । सिटी स्केप समाजका प्रतिनिधि, ऐरावत टोल सुधार समितिका प्रतिनिधि, स्थानीयवासीसहित महानगरका अमिनले नापजाँच गर्दा सिटी स्केपले पर्खाल लगाउँदा सार्वजनिक जग्गा मिचेको पाइएपछि उक्त पर्खाल भत्काएर त्यहाँ ढल निकासको प्रबन्ध गरिने छ । यो योजना निर्माणपछि यो टोलमा बाढीको समस्या समाधान हुनेछ ।’
यो समिति वडा भित्र रहेका समितिमध्यमै सबैभन्दा व्यवस्थित रहेको छ समितिको ल्याएका योजनाहरुमा पनि वडा कार्यालयले सक्दो सहयोग गरेको छ उहाँले भन्नुभयो, आगामी दिनमा पनि यो कार्य निरन्तर रहनेछ । कार्यक्रमका वडासदस्य राजन मल्ल ठकुरीले ऐरावत टोलमा दुईवडा प्रमुख समस्यामध्ये खानेपानी समस्यामा धेरै काम गर्न आफूहरू सफल भएको बताउनुभयो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा निरन्तरको प्रयासपछि टोलका करिब ६ सय घरमा खानेपानीको व्यवस्था भएको छ उहाँले भन्नुभयो, बाढी–डुबानको समस्या समाधानमा पनि वडा कार्यालयले भूमिका निर्वाह गरिरहेको छ ।’ समितिका अध्यक्ष अर्जुन चौलागाईको सभापतित्वमा आयोजित साधारण सभामा अध्यक्ष चौलागाईले आ.व. २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पुरन मल्ल ठकुरीले लेखा परीक्षण प्रतिवेदन पेश गर्नु भएको थियो ।
समितिका सचिव किरण नेपालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष नारायणी चौलागाईले आमन्त्रित प्रमुख अतिथिसहित टोलवासीलाई स्वागत गर्नु भएको थियो । समिति आ.व.२०८०÷०८१ मा सिविन मार्गका पूर्वपट्टी नुमनारायणको घरतर्फ जाने २०० मिटर बाटो ढलान, पाइलटको घरबाट उत्तरतर्फ बाबु राजा अवालेको घर अगाडिको बाटोमा ८० मिटर जति ब्लक छपाई, पशुपति शिव पञ्चायन मन्दिरमा सरसफाई तथा शिवारत्रिमा शिव ध्वनी जगाई प्रसाद वितरण, ज्ञानमार्गसहित भित्रि सडकमा वडा बजेटबाट ७० वटा सडक बत्ती जडान, काठको पोल हटाएर नयाँ पोल राख्ने कार्यमा पनि समितिले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।
खानेपानीतर्फ केयुकेल तथा वडा कार्यालयको सहयोगमा मेलम्ची खानेपानी ४ इन्च र ३ इन्चको नयाँ लाइन नेपाल डेरी हुँदै गैरीगाउँ ऐरावत टोलको पूर्वपट्टीसम्म विस्तार, टेवा चोक हुँदै हात्तीवन समितिभवनसम्म मेलम्चीको नयाँ लाइन विस्तारमा पनि समितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष चौलागाईको प्रतिवेदनमा उल्लेख छ ।
समितिले खानेपानीको स्रोत बढाउन मेलम्चीको लागि थप पहल गर्ने, कन्या मार्गसहित बाँधी सडकहरु कालोपत्रे गर्ने तथा प्राप्त भएका सार्वजनिक जग्गा मध्ये समितिको क्षेत्र भित्र एउटा क्रियापुत्री भवन निर्माण गर्ने भावी योजना पनि बनाएको छ । कार्यक्रममा कोषाध्यक्ष पुरनमल्ल ठकुरीले पूर्वाधार निर्माण तथा सामाजिक कार्य गर्दा भएका खर्च विवरण पेश गर्दै आ.व २०८०÷०८१ मा समितिमा १३ जना सदस्य थप भएको जानकारी दिनु भएको थियो । वार्षिक साधारण सभामा समितिका पूर्वअध्यक्षहरु, समितिका सल्लाहकार तथा सहकारी संस्थाका प्रतिनिधिहरुले समितिलाई अझ अब्बल काम गर्न सुझाव दिनु भएको थियो ।